डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढेर आयो, ग्यासको घट्यो

मंगलबार, १६ साउन २०८०
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगम (एनओसी) लाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ । खाना बनाउने ग्यासको मूल्य भने घटेको छ । आईओसीले एनओसीलाई मंगलबार पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा, डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । यस्तै मट्टितेल ७ रुपैयाँ ५० पैसा र हवाई इन्धन झन्डै ८ रुपैयाँ बढेर आएको छ । ग्यासको मूल्य भने प्रतिसिलिन्डर करिब एक सय रुपैयाँ घटेर आएको ठाकुरले जनाए । निगमले आईओसीले पठाएको सूचीअनुसारै नेपालमा पनि स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने उनको भनाइ छ । आईओसीले हरेक १५-१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । केही दिनयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले पनि भारतबाट आउने प्रशोधित तेलको मूल्यसूची बढेर आएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार