विराटनगर । कोशी प्रदेशको मुख्य मन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गर्ने भएका छन् ।
माओवादीको कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले गठबन्धन तर्फबाट थापाले नै मुख्यमन्त्रीमा दाबी पेश गर्ने सहमति भएको बताएका हुन् ।
उनका अनुसार बहुमत सदस्यको समर्थन जुटाउन सभामुख बाबुराम गौतमले राजीनामा दिने सहमति भएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले बहुमतको सरकार गठनका लागि मंगलबार साँझसम्मको समय दिएका छन् ।
असार २१ गते कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका ४६ प्रदेशसभा सदस्य र सभामुख गौतमको समेत समर्थन लिएर थापा मुख्यमन्त्री नियुक्त भएका थिए ।
सर्वोच्च अदालतले सभामुखले समर्थन गरेर सरकार निर्माण गर्न नमिल्ने फैसला गरेको थियो ।
९३ सदस्यीय प्रदेशसभामा कांग्रेस नेता थापालाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एकजना गरी ४७ प्रदेशसभा सदस्यको समर्थन रहनेछ ।
प्रतिक्रिया