विराटनगर । कोशी प्रदेशको सरकार गठनमा गठबन्धनलाई बहुमत पुर्याउने उद्देश्यले सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् ।
उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् ।
प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले सभामुख गौतमको राजीनामा प्राप्त भएको जानकारी दिएका छन् ।
राजीनामासँगै गठबन्धनका तर्फबाट कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री दाबी गर्न बहुमत पुगेको छ । गौतमसहित थापाको पक्षमा ४७ सभासद भएका छन् । उनी माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
गौतम २०७९ पुस २८ गते सभामुख निर्वाचित भएका थिए । गौतमको राजीनामासँगै गठबन्धनका तर्फबाट बहुमत पुगेको दाबी पेस गर्न नेताहरु प्रदेश प्रमुखको कार्यालयतिर लागेका छन् ।
गठबन्धनले कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।
प्रतिक्रिया