विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । झापा घर भएका थापा प्रदेशसभामा समानुपातिकतर्फका सांसद हुन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मंगलबार अपराह्न मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम थापालाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखले जनाएका छन् ।
थापाले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थनसहित आजै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि असार २१ गते थापा मुख्यमन्त्री नियुक्त भएका थिए ।
उनको नियुक्ति असंवैधानिक भन्दै सर्वोच्च अदालतमा नेकपा एमालेका तर्फबाट रिट निवेदन दिइएको थियो ।
संविधान मिचेर थापाको नियुक्ति भएको भन्दै सर्वोच्च अदालतले साउन ११ गते उनको नियुक्ति खारेज गरिदिएको थियो ।
कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको एकजना सांसद छन् ।
सरकार गठन भएको ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
सरकार गठनमा सहयोग पुर्याउने उद्देश्यले सभामुख बाबुराम गौतमले आजै पदबाट राजीनामा दिएका थिए । राजीनामापछि उनीसहित ४७ जनाको समर्थनमा थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।
प्रतिक्रिया