नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

बुधबार, १७ साउन २०८०
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई बुधबार प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन् । असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु असंवैधानिक भन्दै सर्वोच्च अदालतले उनको नियुक्ति बदर गरिदिएको थियो । मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उनको समर्थन पनि लिएर थापा मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री थापाले ४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दै गठबन्धन दल कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबाट एक–एक मन्त्री नियुक्त गरेका छन् । गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टी भने तत्काल सरकारमा सहभागी नहुने भएको छ । माओवादीबाट हिजो मंगलबार सभामुखबाट राजीनामा गरेका बाबुराम गौतम पनि मन्त्री बनेका छन् । उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । गठबन्धनको सरकार निर्माणका लागि बहुमत पुर्याउन सभामुख गौतमलाई राजीनामा गराइएको थियो । कांग्रेसबाट प्रदीपकुमार सुनुवार र एकीकृत समाजवादीबाट कमलप्रसाद जबेगूले मन्त्रीको शपथ लिएका छन् । सुनुवारले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । जबेगूले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार