कोशी प्रदेश सरकारमा अब जसपा पनि

शुक्रबार, २६ साउन २०८०
विराटनगर । कोशी प्रदेश सरकारमा जनता समाजवादी पार्टी (जसपा) लाई सहभागी हुने भएको छ । आज शुक्रबार जसपालाई सरकारमा लगेर मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो । मुख्यमन्त्री उद्धव थापाले जसपाकी एकमात्र प्रदेशसभा सदस्य निर्मला लिम्बूलाई स्वास्थ्यमन्त्री नियुक्त गर्ने भएका छन् । यसअघि नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि उनी स्वास्थ्य मन्त्री थिइन् । प्रदेशको नाम कोशी राखेको विषयमा असहमति जनाउँदै जसपाले कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन जेठ १७ गते फिर्ता लिएको थियो । नेकपा (माओवादी केन्द्र) ले पनि जेठ २३ गते समर्थन फिर्ता लिएपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको थियो । असार १५ गते संसदबाट विश्वास गुमाएपछि कार्की नेतृत्वको सरकार ढलेको थियो । सभामुख बाबुराम गौतमसमेतको समर्थनमा बहुमत दाबी गरेका नेपाली कांग्रेस संसदीय दलका नेता थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले असार २१ गते मुख्यमन्त्री नियुक्त गरेका थिए । सरकार गठनमा सभामुख सहभागी हुन नपाउने भनेर सर्वोच्च अदालतले थापाको नियुक्ति नै बदर गरिदिएको थियो । प्रदेशसभामा बहुमत पु¥याउन ४७ सांसद आवश्यक पर्छ । एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका १ सांसद छन् । एमाले र राप्रपा एकातिर रहेकाले गठबन्धनलाई बहुमत पुर्याउन कठिन भयो । सभामुख गौतमलाई राजीनामा गर्न लगाएर सांसद संख्या ४७ पुर्याउँदै बहुमत दाबी गरेका थापालाई नै प्रदेश प्रमुख खापुङले साउन १६ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार