मेयर साम्पाङले डेंगुबाट मृत्यु भएकाको संख्या २ मात्रै भएको दाबी गरिरहेका छन् । उनले बुधबार आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरु भेला गरी भने ‘साँच्चै भन्ने हो भने खास डेंगु लागेर २ जनाको मात्रै मृत्यु भएको छ, अरु (९ जना) त दीर्घ रोगबाट पीडित हुन् ।’
उनको सो अभिव्यक्तिबाट समेत धरान उपमहानगरपालिका डेंगु नियन्त्रणमा गम्भीर नभएको भनी आलोचना भइरहेको छ । उसो त उनले धरानलाई जनस्वास्थ्यको आपतकालीन अवस्था घोषणा गर्नै नपर्ने समेत प्रतिक्रिया दिएका छन् ।
साउन २६ गते बसेको जिल्ला विपद् व्यवस्थापन समिति, सुनसरीको बैठकले धरानलाई ‘जनस्वास्थ्यको आपतकालीन अवस्था घोषणा’ को लागि संघीय सरकार गृह मन्त्रालय र कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।
साम्पाङको अभियानमा डिस्ट्रोय टोली भन्दा युट्युबर धेरै भएको भनी आलोचना समेत भइरहेको छ । मेयर साम्पाङले भने टोल विकास संस्थाहरु सक्रिय हुनुपर्ने बताउदै आएका छन् । उनी भन्छन् ‘सबैले आ–आफ्नो घर सफा राख्ने हो, टोल विकास संस्थाहरु सक्रिय भए चाँडै अभियान सफल हुन्छ तर टोल विकास संस्थाले सहयोग गरेनन् ।’
टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरुले भने मेयर साम्पाङले ठोस कार्यक्रम नल्याएकोले अलमल भएको बताउने गरेका छन् । उनीहरु आफ्नो बलबुताले भ्याएसम्म काम गरेको दाबी गर्छन् ।
धरानमा डेंगु संक्रमणको स्थिति भयावह बन्दा समेत संघीय सरकार र प्रदेश सरकारले सहयोग नगरेको भनी मेयर साम्पाङले गुनासो गरिरहेका छन् । १५ हजा र भन्दा बढीको डेंगु परीक्षण गर्दा जम्मा ५ सय किट मात्रै संघिय सरकारले दिएको साम्पाङले बताए ।
डेंगुका विरामीले अस्पताल नै अस्तव्यस्त भएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै अस्पताल सञ्चालन गरेको छ । त्यस्तै, धरान उपमहानगरपालिकाले धरान–१ स्थित पुरानो अस्पताल र सभागृहमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । यति गरे पनि बिरामीले पर्याप्त उपचारको सुविधा पाएका छैनन् । धरानका निजी मेडिकल तथा निःशुल्क स्वास्थ्य शिविर समेत विरामीले भरिएका छन् ।
धरानको १३ नम्बर वडा कार्यालय, १४ नम्बर वडाको स्वास्थ्य केन्द्र, १५ नम्बर वडाका दुईवटै स्वास्थ्य केन्द्र तथा सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा समेत निःशुल्क डेंगु परीक्षण शिविर चलिहरको छ ।
धरानमा डेंगुबाट ज्यान गुमाउनेहरु
जम्माः ११
वडा नं. २ः १ जना
वडा नं. ५ः १ जना
वडा नं. १०ः १ जना
वडा नं. ११ः ४ जना
वडा नंं १५ः १ जना
वडा नं. १६ः १ जना
वडा नं. १७ः १ जना
वडा नं. १८ः १ जना
महिलाः ६, पुरुषः ५ (दुई बालबालिकासहित)
प्रतिक्रिया