झापा । रोजगारीका लागि तीन वर्षअघि ओमन गएकी एक युवती बेचिएको खुलेको छ । झापाको अर्जुनधारा–६ लक्ष्मीपुर माता मन्दिरछेऊ घर भएकी ३० वर्षीया कमला मुर्मूलाई इराक पुर्याएर बेचेको परिवारले दावी गरेको छ ।
बिर्तामोडस्थित ‘समुन्नत नेपाल’ को कार्यालयमा बिहीवार पत्रकार भेटघाट आयोजना गरी कमलाकी आमा लखी मुर्मूले आफ्नी छोरीलाई इराक पुर्याएर बेचेको बताइन् ।
इटहरीको बाँसवारी घर भएका गोविन्द कट्टेल र बिर्तामोड १ निवासी मदन खरेलले आफ्नी छोरीलाई ओमनमा रोजगारी दिलाउने भन्दै बिदेश पुर्याएको र इराकमा लगेर छोरीलाई बेचेको लखीले बताइन् ।
तीन वर्षदेखि वैदेशिक रोजगारीमा रहेकी छोरी सम्पर्कविहीन भएको र केही समयअघि मात्रै उनी सम्पर्कमा आएपछि उनले आफू बेचिएको बताएसँगै उनको उद्धार गरिदिन लखीले आग्रह गरेकी हुन् ।
‘कमलालाई श्रीमानले छाडेपछि आठ वर्षकी छोरी काजललाई मेरो जिम्मा लगाएर कमाउन जान्छु है आमा भन्दै ऊ विदेश गएकी हो’ लखीले भनिन् ‘तीन वर्षसम्म छोरीको अत्तोपत्तो थिएन । अहिले छोरी सम्पर्कमा आइन् तर उनलाई उद्धार गर्नुपर्ने भयो । हाम्रो बलबुताले नभ्याएपछि तपाईंहरुलाई गुहारेकी हुँ । छोरीको उद्धारमा सहयोग पु¥याइदिनुहोस् ।
कमला २०७७ भदौ १० गते ओमन जाने भनेर घरबाट हिँडेकी थिइन् । ‘ उनलाई इराक पुर्याएर बेचिएछ आमाले रुँदै भनिन् ‘बेचिएकी छोरीको उद्धारका लागि धेरैलाई गुहार माग्यौं तर हाम्रो आवाज कसैले सुनेन ।’
विदेश गएकी छोरी सम्पर्कमा नआएपछि जिल्लाप्रशासनकार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी, अर्जुनधारा नगरपालिका, वडा कार्यालय, माइती नेपाललगायत संघ संस्थासँग छोरीको खोजी गरिदिन आग्रह गरेको तर सुनुवाई नभएको उनको भनाइ छ ।
लखीकी छिमेकी संगीता प्रसाई बंशलले भनिन् ‘हाम्रो कुरा कस्ले सुनिदिने, जानेजति सबै ठाउँ पुग्यौ तर, उनको उद्धार कतैबाट भएन ।’
विदेश गएकी कमला बेपत्ता भएसँगै उनलाई विदेश पठाउने एजेन्ट कट्टेल र खरेललाई डेढ वर्षअघि घरबाटै पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर छलफल गराएको र त्यतिबेला उनीहरुले १५ दिनभित्र छोरीलाई नेपाल झिकाइदिने भनेका थिए । तर, हालसम्म छोरीको उद्धार हुननसकेको लखीले गुनासो गरिन् ।
कमला यसअघि कुवेत गएकी थिइन् । उनी दुई वर्षसम्म कुवेतमा काम गरेर नेपाल फर्किए पनि फेरि ओमन गएकी थिइन् ।
सम्मनुत नेपालकी सञ्चालक तथा महिला अधिकारकर्मी कोपिला बस्नेतले कमलाको उद्धारमा सहयोग गर्न सरोकारवाला सबैमा आग्रह गरेकी छन् ।
प्रतिक्रिया