विराटनगर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले संखुवासभा जिल्ला कारागार खाँदबारीमा कुटपिटबाट दुईजना कैदीको मृत्यु भएको घटनामा पीडितले न्याय नपाउने अवस्था बन्दै गएको जनाएको छ ।
घटनाको छानबिन र अनुसन्धान प्रक्रियाप्रति प्रश्न उठाउँदै इन्सेकले दोषी उम्किने खतरा रहेको जनाएको छ । कुटपिटका कारण कैदीहरु संखुवासभाको मादीका विनोद तोलाङ्गी र नुवाकोटको ककनीका विकास श्रेष्ठ भनिने आकाश बलामीको साउन २४ गते बिहान मृत्यु भएको थियो ।
घटनापछि इन्सेक कोशी प्रदेशका संयोजक सोमराज थापा नेतृत्वको टोलीले स्थलगत अध्ययन गरेको थियो । इन्सेकले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गर्दै अनुगमन प्रतिवेदन सार्वजनिक गरेको हो । सुरक्षाकर्मीको निर्मम यातनाका कारण कैदीको मृत्यु भएको प्रशस्त आधार फेला परेको इन्सेकले जनाएको छ ।
‘झ्यालको रड काटेर भाग्न खोेजेको भन्दै नियन्त्रणमा लिएर पहिलो चरणमा सुरक्षाकर्मीले चरम यातना दिँदै कुटपिट गरेको पाइयो । दोस्रो चरणमा कैदीबन्दीको प्रशासनभित्रका नाइके, भाइनाइकेले चरम यातना दिएका कारण मृत्यु भएको प्रशस्त आधारहरू फेला परेको छ,’ प्रतिवेदन भनिएको छ, ‘राज्यको सुरक्षा नियन्त्रणमा रहेका कैदीको हत्या गरिनु मानव अधिकारको गम्भीर उल्लंघन हो ।’
इन्सेकले घटनामा संलग्न सबै सुरक्षाकर्मीलाई तत्कालै अनुसन्धानको प्रक्रियामा ल्याउनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्नुपर्ने, घटनाको निष्पक्ष र वस्तुनिष्ठ छानबिन गर्नुपर्ने जनाएको छ ।
इन्सेकका प्रदेश संयोजक थापाका अनुसार रड काटेर बाहिर निस्किए पनि तारा घेरासहितको अग्लो पर्खाल नाघेर कैदी कारागारबाट भाग्न सक्ने अवस्था थिएन । ‘सुरक्षाकर्मीले बाहिर कुटपिट गरेर अवस्था अन्तिम बनाएपछि दुवै जनालाई कारागारको भित्री प्रशासनको जिम्मा लगाएको पाइएको छ । भित्र पठाइसकेपछि पनि अन्य कैदीबन्दीले कुटपिट गरेको कुरा छ,’ उनले भने, ‘मृत्यु नै हुने अवस्था आएपछि घटना मोडन मात्रै कारागारभित्र हालेको देखिन्छ । अन्य कैदीबन्दीले पनि आफूहरुलाई फसाउन प्रहरीले भूमिका खेलेको बताएका छन् ।’
उनका अनुसार मृतकको शरीरका विभिन्न अंगमा निलडाम थियो । यातना दिने क्रममा मृतकको गोलीगाँठामा तिखो वस्तुले घोपेको, नली खुट्टामा रडले हिर्काएको, तीघ्रादेखि ढाडसम्म कुनै गाह्रौं वस्तुले हिर्काएजस्तो देखिएको थापाको भनाइ छ । पीडित परिवार र प्रत्यक्षदर्शी, चिकित्सकलगायतको भनाइ तथा अनुगमनबाट चरम यातना र कुटपिटका कारण कैदीको मृत्यु भएको देखिएको उनले बताए ।
गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेको संयोजकत्वमा समिति बनाएर छानबिन गरेको छ । प्रदेश प्रहरी कार्यालय र स्थानीय प्रशासनले पनि छानबिनका लागि अलगअलग समिति बनाएका थिए । विभिन्न छानबिन समिति कानुनविपरीत रहेको भन्दै सरोकारवालाले पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक समिति बनाएर घटनाको छानबिन गर्नुपर्नेमा जोड दिइएको छ ।
घटनापछि कारागारको सुरक्षार्थ खटिएका प्रहरीका इन्चार्ज असइ लक्ष्मी चौधरी र निमित्त जेलर राजेन्द्र घिमिरेविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएका छन् । चौधरीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । पक्राउ पूर्जी जारी भएपछि घिमिरे फरार छन् । तर, घटना भएका बेला निमित्त जेलर घिमिरे काजमा रहेको पाइएको छ ।
घटनामा संलग्न रहेको आरोपमा कारागारका १० प्रहरी र नौ जना कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनाको छानबिन र अनुसन्धानप्रति इन्सेकले असहमति जनाएको छ ।
उनका अनुसार बिहानका राति १ः३० बजेतिर भएको घटनाका बारेमा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बिहान ६ः३० बजेतिर र जिल्ला प्रहरी प्रमुख डीएसपी वीरेन्द्र गोदारले बिहान ६ः७ बजेतिर मात्रै जानकारी भयो भन्नु नै शंकास्पद छ । थापाले पीडितलाई न्याय र क्षतिपूर्ति तथा घटनाको निष्पक्ष अनुसन्धान गरेर दोषीमाथि कारबाही हुनुपर्ने माग आफूहरुको रहेको बताए ।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय विराटनगरका प्रमुख पवनकुमार भट्टले राज्यको नियन्त्रणमा कैदीको हत्या हुनु असामान्य भएको बताए । घटनापछि भट्ट नेतृत्वकै टोलीले स्थलगत अनुगमन गरेको थियो ।
संखुवासभा प्रहरी प्रमुख डीएसपी वीरेन्द्र गोदार हालसम्म दुई जनाविरुद्ध मात्रै किटानी जाहेरी परेको बताउँछन् । ‘घटनामा संलग्न भएको आशंकामा अन्य केही व्यक्तिमाथि पनि अनुसन्धान अघि बढाइएको छ,’ उनले भने, ‘अनुसन्धापछि थप विषय खुल्छ ।’ पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि अनुसन्धान थप सहज बन्ने गोदारको भनाइ छ ।
प्रतिक्रिया