कोशी अस्पतालमा सुत्केरीको मृत्यु

शुक्रबार, ०१ भदौ २०८०
विराटनगर । विराटनगरको कोशी अस्पतालमा गराइरहेकी ८ दिनकी सुत्केरीको मृत्यु भएको छ । अस्पतालको आईसीयूमा उपचाररत उनको मृत्युपछि बिहीबार राति अस्पताल परिषर तनावपूर्ण बनेको थियो । मोरङको रंगेली नगरपालिका–३ की १८ वर्षीया सुलेखा मण्डल कामतलाई राति ८ बजेतिर चिकित्सकले मृत घोषित गरेका थिए । सुलेखाले साउन २४ गते रंगेली अस्पतालमा शिशुलाई जन्माएकी थिइन् । सामान्य प्रसूतिमार्फत शिशु जन्माएकी उनलाई अस्पतालले २६ गते घर पठाएको थियो । श्वासप्रश्वासमा समस्या भएको भन्दै परिवारका सदस्यले सुलेखालाई साउन २८ गते उपचारका लागि कोशी अस्पताल ल्याएका थिए । आईसीयूमा उपचाररत अवस्थामै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । सुत्केरीको मृत्यु हुनुको कारण अस्पतालले सार्वजनिक गरेको छैन । सुलेखाको मृत्युपछि आफन्त र परिवारका सदस्यले कोसी अस्पताल परिसरमा प्रदर्शन र नाराबाजी गरेका थिए । चिकित्सकको लापरबाहीले घटना भएको आरोप उनीहरुको थियो । लापरबाही गर्ने चिकित्सकलाई कारबाही, मृतकका परिवारलाई क्षतिपूर्ति तथा छानबिन गरेर घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग राख्दै सुरु भएको प्रदर्शन र नाराबाजीका गरिएको थियो । प्रहरीले सम्झाईबुझाई गरेपछि अवस्था सामान्य बनेको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी विजय श्रेष्ठले बताए । मृतकको शव अस्पतालमै छ । घटनालाई लिएर अस्पताल प्रशासनसँग छलफल गर्ने भनिएपछि मृतकका आफन्त र परिवारका सदस्यले प्रदर्शन तथा नाराबाजी रोकेका थिए । शुक्रबार बिहान छलफलको तयारी गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार