विराटनगर । कोशी प्रदेशको प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक बैठक आज शुक्रबार दिउँसो १ बजे बस्दैछ । बैठकमा सभामुख बाबुराम गौतमले दिएको राजीनामा पत्रको जानकारी गराउने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद् विस्तार सम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ ।
बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट अध्यादेशसम्बन्धी छलफल सुरु हुने जनाइएको छ । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रक्रिया सकिएपछि गत असार १५ गते बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
यसैबीच, नेपाली काँग्रेस कोसी प्रदेश संसदीय दलले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत दिन सबै राजनीतिक दलसमक्ष आग्रह गरेको छ । पार्टीको प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईका अनुसार भदौ १४ गतेभित्र मुख्यमन्त्री थापाले विश्वासको मत लिइसक्नुपर्छ । विश्वासको मतका लागि सबै दलहरुसँग आग्रह गरिएको उनले बताए ।
प्रदेशलाई स्थिर राखेको सन्देश दिनपनि दलहरुले विश्वासको मत दिनेमा काँग्रेस विश्वस्त रहेको प्रमुख राईको भनाइ छ । विश्वासको मतका लागि शुक्रबार खाका आउने उनले बताए ।
प्रतिक्रिया