संक्रमणजन्य रोगको उपचारमा ध्यान दिन संसदमा सरकारको ध्यानाकर्षण

शुक्रबार, ०१ भदौ २०८०
विराटनगर । कोशी प्रदेशका सांसदहरुले प्रदेशमा फैलिइरहेको संक्रमणजन्य रोगको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठकको शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यले डेंगुको संक्रमण फैलिइरहेको धरानलाई जनस्वास्थ्य आपतकालीन क्षेत्र घोषणा गर्न पनि माग गरे । उनीहरुले बाढी, पहिरोमा परेकाको उद्धार र व्यवस्थापनमा सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए । कांग्रेस सांसद ममता तामाङ मगरले डेंगु महामारी नियन्त्रणमा सरकारको उपस्थिति प्रभावकारी हुनुपर्नेमा जोड दिइन् । धरानलाई जनस्वास्थ्य संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने माग उनको छ । एमाले सांसद निरादेवी खनालले डेंगु परीक्षणको दायरा बढाउन र उचित उपचारको प्रबन्ध गर्न सरकारको ध्यानआकर्षण गराएकी छन् । ‘प्रदेशमा डेंगुको संक्रमण बढेकाले सरकारले स्वास्थ्य सेवाको उचित प्रबन्ध गर्नुपर्छ,’ उनले भनिन् । एमालेका रमेशकुमार बस्नेतले परीक्षण गर्दा ७२ प्रतिशतभन्दा धेरैमा डेंगुको संक्रमण देखिने गरेको बताए ।स्वास्थ्य मन्त्रालयलाई लिखित जानकारी गराउँदा समेत जनस्वास्थ्य आपत्कालीन क्षेत्र घोषण गर्न ढिलाइ भइरहेको बस्नेतको भनाइ छ । एमालेका सांसद उमाकान्त गौतमले शिक्षकहरुको मागको सम्बोधन सरकारले गर्नुपर्ने बताए । नेपाली कांग्रेसका सांसद खगेनसिंह हाङ्गाम भूमिहीन र सुकुम्बासी समस्या समाधान गर्न भूमि आयोग गठन भएपनि लालपूर्जा वितरण हुन नसक्दा थप समस्या सिर्जना भइरहेको बताए । कांग्रेसका गोपाल तामाङले काँकडभिट्टा नाका कोभिडपछि लगभग सुनसान अवस्थामा पुगेको बताए । उनले भारतको पश्चिम बंगाल राज्यले तेस्रो देशका पर्यटकहरुको आवागमन रोक लगाइरहेको उल्लेख गरे । नेकपा (माओवादी केन्द्र) का सांसद गोम्बु शेर्पाले कोशी प्रदेश नामकरणविरुद्ध संघर्षरत पक्षसँग वार्ता गर्न सरकारले ढिलाइ गरिरहेको बताए । नामकरणविरुद्धको समस्या समाधानका लागि नयाँ समिति बनाएर छलफल र वार्तामा सरकारले ध्यान दिनुपर्ने शेर्पाको माग छ । एमालेका सांसद छविलाल चूँडालले प्रादेशिक अस्पताल मेचीमा नयाँ भवन बनेपनि सञ्चालनमा आउन नसकेको बताए । एमाले सांसद सांसद विदुरकुमार लिङ्थेपले असार २ गतेको बाढी पहिरोमा परी वेपत्ता भएकालाई मृत घोषित गर्नुपर्ने माग राखे । कांग्रेस सांसद केदार कार्कीले प्रदेश सरकारको कार्यशैलीप्रति विरोध जनाए । जनता पीडामा परेका बेला दलहरु आआफ्नो धुनमा लागेको आरोप लगाए । न्यायालय धाउँदैमा ठिक्क भएकाले सरकारले जनताको समस्यामा ध्यान दिन नसकेको उनको आरोप छ । यसैबीच, प्रदेशको प्रमुख पतिपक्षी दल नेकपा (एमाले)ले प्रदेशलाई निकास दिनका लागि सबै दलबीचमा छलफल आवश्यक रहेको जनाएको छ । एमाले संसदीय दलका उपनेता राम रानाले प्रदेशलाई बलियो बनाउन सबै राजनीतिक दल एकस्थानमा बसेर छलफल गर्ने वातावरण सिर्जना हुनुपर्ने बताए । प्रदेशसभाको विशेष समयमा बोल्दै उनले थामेर बलियो बनाउन आवश्यक नठाने प्रदेशको आयु अन्तिमतिर पुगेको उल्लेख गरे । ‘प्रदेश थामेर यसलाई व्यवस्थित गर्छौ भन्ने र प्रदेश यही हो भन्ने कुरा आवश्यक छ । यसलाई स्थापित नगर्ने हो भने हाम्रो आयु अन्तिम हुनेछ,’ रानाले भने, ‘आफ्नो आयु छोट्याउने भन्दा सँगै बसेर छलफल गरी सामूहिक प्रयासमा निकास निकाल्नुपर्छ । राजनीतिक दलहरु अस्थिरतातर्फ मात्रै अघि बढ्नु ठीक हैन ।’ सरकार बनाउने र ढाल्ने खेलमा मात्रै लाग्दा समयले नपर्खिने उनले बताए । उपसभामुख सिर्जना दनुवारले सभामुख बाबुराम गौतमले दिएको राजीनामा र नयाँ सरकार गठनका बारेमा प्रदेशसभामा जानकारी गराएकी छन् । प्रदेशसभा बैठकमा उनले सभामुख गौतमले दिएको राजीनामा, नयाँ सरकार गठन र कार्यविभाजन सम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएकी हुन् । उपसभामुखले मुख्यमन्त्रीको नियुक्ति सम्बन्धमा प्रदेशसभा सचिवालयलाई प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको पत्रसमेत पढेर सुनाइन् । दनुवारले अहिले कोसी प्रदेश विशिष्ट परिस्थितिमा रहेको उल्लेख गरिन् । उक्त परिस्थितिका बारेमा सबै राजनीतिक दलहरु जानकार रहेको उनले बताइन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार