बाढीले लडाएको सीमास्तम्भ संरक्षणका लागि समिति

आइतबार, ०३ भदौ २०८०
झापा । गत असारमा आएको बाढीले दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिमा चारबटा सीमा स्तम्भ ढले । कमल खोलामा आएको बाढीका कारण गौरीगञ्ज क्षेत्रभित्र मात्रै चारवटा स्तम्भ लडेका थिए । ढलेको महिनादिन बितिसक्दा समेत उठाउन चासो नखेखाएको भन्दै गौरीगञ्ज गाउँपालिका ५ का वडा अध्यक्ष विजयसिंह गन्गाईको संयोजकत्वमा ११ सदस्यीय समिति सीमा स्तम्भ संरक्षण समिति गठन भएको छ । नेपाल–भारतको दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भ ढलेसँगै सीमाको रेखदेख र सीमाक्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि न्यूनीकरणका लागि वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक विजय कार्कीले बताए । सीमा क्षेत्रको सुरक्षा र स्तम्भको रेखदेखका लागि बसेको सर्व पक्षीय भेलाले यस्तो निर्णय गरेको हो । बाढीका कारण गौरीगञ्ज २ स्थित लालमाटी छेऊ दशगजामा रहेको १४०/१५ नम्बरको सीमास्तम्भ ढलेको थियो । त्यस्तै, वडा नम्वर ४ स्थित अल्तावारीमा रहेको १४९/२६ नम्वरको स्तम्भ, वडा नम्बर २ आमगाछी छेउमा रहेको १४५/११ र वडा नम्वर ४ मा अल्तावारीमा रहेको १४९/८ नम्बर स्तम्भ ढलेका थिए । समितिले गौरीगञ्ज गाउँपालिकाको दक्षिणी सीमासँग जोडिएको खुल्ला सीमाबाट हुनसक्ने आपराधिक गतिविधिको सूचना आदानप्रदान गर्ने, सीमा स्तम्भ डुबानमा परे वा जोखिममा भए त्यसको जानकारी दिने र सीमा क्षेत्रका बारेमा महिनामा एकपटक बैठक बसी छलफल गर्ने निर्णय गरेको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक अस्मिनकुमार थापाको रोहवरमा समिति निर्माण गरिएको हो । समितिको संयोजकमा वडा अध्यक्ष विजयसिंह गन्गाई, सदस्यहरुमा इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक विजय कार्की, सशस्त्र प्रहरी निरीक्षक रुद्र बुढाथोकी, वडा सदस्य देवनारायण गन्गाई, गन्गाई समाजका सहदेव गनगई, अमर खेलकुदका प्रतिनिधि असोक राज थापा, उद्योग वाणिज्य संघका प्रतिनिधि रोशन यादव, जनता वालविकास प्राविका ममता कुमारी सिंह, नागरिक समाजका प्रतिनिधि सन्तोष गन्गाई, गोपालप्रसाद गन्गाई र पत्रकार आत्माराम राजवंशी छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार