आज नभए अर्को कुनै दिन विश्वासको मत लिन्छौंः मुख्यमन्त्री थापा

सोमबार, ०४ भदौ २०८०
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने सम्भावना टरेको बताएका छन् । विश्वासको मत लिन सकिने अवधि बाँकी नै रहेको भन्दै उनले अर्को कुनै दिन लिने बताए । विराटनगरस्थित एक होटलमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले यस्तो अझै म्याद रहेकाले अर्को कुनै दिन विश्वासको मत लिन सकिने बताए । ‘‘विश्वासको मत लिने सम्बन्धमा हामीलाई ३० दिनको समय छ । त्यो अवधिभित्र विश्वासको मत लिन्छौं,’ थापाले भने । ‘आफैंले बोलाएको बैठक उपसभामुखले दिएको समय थियो । उहाँ नै अनुपस्थित हुनुभयो । उहाँले आज बिहान ९ बजेतिर जानकारी दिनुभयो,’ थापाले भने, ‘उहाँले बोलाएको बैठकमा उहाँ नहुँदा के गर्ने भन्ने निर्णय कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्छ । आजै विश्वासको मत लिने सम्भावना देखिएन । सल्लाह गरेर अर्को दिनलाई निश्चित गरेर हामी अगाडि बढ्छौं ।’ कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर त्यसबारे औपचारिक निर्णय गर्ने उनले बताए । कार्य व्यवस्था परामर्श समितिको बैठकमा के गर्ने भन्नेबारे निर्णय हुने थापाले बताए । उनले विश्वासको मत लिने विभिन्न तरिका र उपायाहरु रहेको बताउँदै आफूले निर्धारित समयमै विश्वासको मत पाउने दाबी गरे । प्रदेशमा प्रदेशसभाभित्र रहेका दलहरुका बीचमा सहमति, सहकार्य र एकता गरेर प्रदेशको स्थायित्व दिन र विकासका काम मिलेर गर्न आफूहरुले उदारता अपनाए पनि एमालेले एउटा भनेर अर्को काम गरेको उनले टिप्पणी गरे । ‘एमालेले सल्लाह एउटा गर्ने, कुरा एउटा गर्ने काम अर्को गर्ने भयो । विश्वासको मत लिने समयमा अनुपस्थित हुने हो भने आफैंले किन समय दिएको ?’ थापाले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार