‘सहमतीय सरकारको पक्षमा छु’

सोमबार, ०४ भदौ २०८०
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आफू सहमतीय सरकारको पक्षमा रहेको बताएका छन् । राष्ट्रिय राजनीतिमा जे भए पनि कोशी प्रदेशमा सहमतिको सरकारको विकल्प नभएको उनको भनाइ छ । ‘प्रदेशमा सहमतिको सरकार आवश्यक छ,’ उनले भने, ‘यसको विकल्प छैन ।’ प्रदेशसभामा विश्वासको मतको प्रस्ताव पेस गरेपछि उठेका प्रश्नको जवाफ दिँदै थापाले यस्तो बताएका हुन् । ‘राप्रपासँग पटकपटक छलफल भयो । तर, प्रदेशलाई दुर्घटनाबाट जोगाउने भूमिकामा राप्रपालाई पाउन सकिएन,’ उनले भने, यसअघि राप्रपासँग सहकार्यको सबै प्रयास असफल भएको छ । राप्रपाले मुख्यमन्त्री र सभामुख पनि लिन मानेन ।’ फरक विचार भएपछि कुरा सुन्न पनि मन नलाग्ने भन्दै थापाले सबैसँग विश्वासको मत मागिसकेको बताए । ‘मैले हिक्मत कार्कीसँग त पटकपटक फोन गरेर मत मागेको छु । तर, मत नै मागेन भन्ने कुरा सुनियो । यसमा कुनै आपत्ति छैन’ उनले भने । आफूलाई विश्वासको मत दिएर सहमतिको राजनीतिक सुरु गर्न एमाले र राप्रपालाई उनले आग्रह गरे । ‘प्रदेश बनाउनु छ । कसैले केही जित्नु छैन । प्रदेशको समृद्धिको लागि लाग्नु छ । हामी नमिलेसम्म र सहकार्य नगरेसम्म केही हुँदैन,’ उनले भने । विश्वासको मत लिएपछि मात्रै सरकारले आफ्ना काम सुरु गर्नुपर्ने मान्यताका आधारमा आफूले विश्वासको मत लिन लागेको उनको भनाइ छ । थापाले विकास र समृद्धिको बाटोमा प्रदेशलाई लैजान आफूले सक्दो प्रयास गर्ने बताए । जनताको आधारभूत आवश्यकतासँग जोडिएका विषयमा सरकार गम्भीर रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार