मुख्यमन्त्रीविरुद्ध सर्वोच्च अदालत जान्छौं : एमाले

मंगलबार, ०५ भदौ २०८०
विराटनगर । संविधानविपरीत विश्वासको मत लिएको भन्दै कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध एमाले सर्वोच्च अदालत जाने भएको छ । सभामुखको मतसमेत जोडेर विश्वासको मत लिनु असंवैधानिक भएको एमालेको ठहर छ । सभामुखको भूमिकामा रहेर प्रदेशसभाको अध्यक्षता गरेका नेपाली काँग्रेसका प्रदेशसभा सदस्य इस्राइल मन्सुरीले सोमबार प्रदेशसभामा थापालाई विश्वासको मत दिएका थिए । एमाले कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी विश्वासको मत लिने नाममा संविधान, कानुन र संसदीय मूल्य मान्यताको हुर्मत लिने काम भएको बताउँछन् । ‘संसदीय अभ्यास र परम्परामा योभन्दा निन्दनीय अरु हुनै सक्दैन,’ उनले भने, ‘मत बराबर नभएको अवस्थामा सभामुखले मतदान गर्नु संविधान, कानुन र संसदीय मर्यादाविपरीत हो ।’ भण्डारीले यसविरुद्ध सर्वोच्चमा जाने पनि बताए । उनले भने, ‘प्रदेशसभाभित्र आफ्नो हिसाबले पर्दाफास गर्छौ र कानुनी लडाइँमा पनि जान्छौं ।’ मत हाल्ने समयावधि सकिएपछि ‘जुरुक्क उठेर’ सभामुखले मतदान गर्नु घोर आपत्तिजनक र संसदीय अपराध भएको भण्डारी बताउँछन् । मुख्यमन्त्री थापाविरुद्ध सर्वोच्च जाने र त्यसको तयारी थालिएको उनले बताए । ‘सत्तारुढ गठबन्धनले पटकपटक संविधानको धज्जी उडायो । कानुन नमान्ने र संसदीय गरिमा नराख्ने काम गरयो,’ भण्डारी भन्छन्, ‘संविधानमाथिको हमलाले निर्लज्ज बनाएको छ । प्रदेशसभाभित्र संसदीय मूल्य मान्यताविपरीत दण्डनीय अपराध भएको छ ।’ सत्ता गठबन्धनले पहिलोपटक गरेको संविधान उल्लंघनलाई सर्वोच्चले सच्याए पनि गठबन्धनले पुनः त्यही बाटो अवलम्बन गरेको उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार