केदार बस्नेत
धरान । चार दिनदेखि परेको अबिरल बर्षाका कारण सेहरा खोलामा आएको बाढीले कटान गर्दा धरानको ६ न वडा उच्च जोखिममा परेको छ ।
सेहरा खोलाले कटान तिब्र गरेको छ भने ठाउँ ठाउँबाट खोला उक्सिएर धानबारीमा पसेको छ । अबिरल वर्षाका कारण सेहरा खोलामा ठूलो बाढी आउँदा खोला किनाराको सुकुम्बासी बस्ती सहित ४० घर परिवार जोखिममा परेको वडाध्यक्ष भूपेन्द्र भट्टराईले बताए ।
खोलामा आएको बाढी सोमबार राती एक्कासी गाउँपस्दा स्थानीयको घर, धानबालीमा क्षती पुगेको भट्टराईले बताए । सेहेरा सगम सूचना टोलका १८ घर र सितल टोलका करिब २२ घर गरी करिब ४० घर परिवार बाढीको उच्च जोखिममा परेका छन् ।
बाढीका कारण स्थानीय गोपाल विष्टको काठको घरसहित कुखरा फर्म र कमला लिम्बुको धानखेतमा पूर्ण क्षती पुगेको छ । गाउँमा एक्कासी बाढी बसेपछि स्थानीय चिन्तित बनेका छन् ।
सेहरा खोला कोशी प्रदेशकै बढी करेन्ट प्रवाह गर्ने खोला भएकोले क्षणभरमा नै अकल्पनीय क्षति गर्ने वडाध्यक्ष भट्टराईले बताए । उनले गतवर्ष खोलालाई च्यानलिङ (खोलाको बीच भाग गहिरो बनाइ दायाँबायाँ ढुगा गिट्टी राख्ने काम) गर्दा गर्दै केही समूहले मुद्दा लगाइदिएकोले काम स्थगित भएको बताए ।
खोलाले बर्षेनि क्षति गर्ने गरेकोले तटबन्धनका लागि उपमहानगरपालिकालाई पटक पटक आग्रह गर्दा समेत बेवास्ता गरेको स्थानीय टीका लुइँटेलले बताए । बाढीको उच्च जोखिममा परेका बस्तीहरुलाई जोगाउन तटबन्ध लगाउनुपर्ने बताउँदै सेहरा खोलामा तटबन्ध लगाउनको लागि डिपिआरको चरणमा रहेको प्रदेश सासद रमेश बस्नेतले बताए ।
प्रतिक्रिया