कोशी सरकारविरुद्ध रिटको सुनुवाइ स्थगित

शुक्रबार, १५ भदौ २०८०
काठमाडौं । कोशी सरकारविरुद्धको रिटमा आज निर्धारित सुनुवाइ स्थगित भएको छ । आज यो रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा परेको थियो । न्यायाधीश खतिवडाले हेर्न नमानेपछि सुनुवाइ स्थगित भएको हो । प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेको भन्दै उनले मुद्दा हेर्न अस्वीकार गरेका हुन् । भदौ ७ गते खतिवडाको इजलासले प्रदेश सभा बैठकको अध्यक्षता गरेको व्यक्तिले विश्वासको प्रस्तावमा मत दिनु असंवैधानिक भएको भन्दै दीर्घकालीन र नीतिगत निर्णय नगर्न आदेश दिएको थियो । भदौ ४ गते कोशी प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा सभाध्यक्षको मत प्रयोग गरेर मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको घोषणा गरेको र यो गैरसंवैधानिक भएको भन्दै पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए । मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गर्ने व्यक्ति इस्राइल मन्सुरी र गीता तिम्सिनाले समेत मत दिएका थिए । विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान भइरहेका बेला मन्सुरीले सभाको अध्यक्षता गरेका थिए । मतदान र मत सच्याउने समय पनि सकिएपछि मन्सुरीले सभाको अध्यक्षता गर्न तिम्सिनालाई बोलाएर आफू मतदान गर्न गएका थिए । उनीहरुले समेत दिएको मतको आधारमा थापाले ९३ सदस्यीय प्रदेशसभामा बहुमत प्रदेशसभा सदस्य अर्थात ४७ जनाको समर्थन पाएका थिए । सर्वोच्चले त्यसलाई गैरसंवैधानिक भनेपछि कोशी सरकार 'कामचलाउ' बनेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार