कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिटको सुनुवाइ आज

आइतबार, १७ भदौ २०८०
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आइतबार हुँदैछ। थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै सर्वोच्चमा दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुने भएको हो। पूर्व मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले दर्ता गराएको उक्त रिट गत आइतबार न्यायाधीश द्वय: ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न नमिल्ने’ भएसँगै आज पुन: सुनुवाइ हुँदैछ। नेकपा एमाले संसदीय दलका नेता कार्कीले भदौ ६ गते नेपाली कांग्रेसका नेतासमेत रहेका मुख्यमन्त्री थापाले संविधान विपरीत विश्वासको मत लिएको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए। विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले समेत मत दिएको भन्दै सभाध्यक्ष गर्नेलाई मतदानको अधिकार नरहेको दाबी रिट निवेदनमा गरिएको हो। उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारण देखाउ आदेश जारी गरेका थिए। भदौ ६ गते ‍कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार