इलाममा रोपाइँ जात्राको रमझम

आइतबार, १७ भदौ २०८०
इलाम । इलाम बजारमा आइतबार परम्परागत रुपमा मनाइँदै आएको रोपाइँ जात्रा सम्पन्न भएको छ । नेपाल भाषा तथा संस्कृति समाज इलामको आयोजनामा जात्रा भएको हो । विशेष गरी नेवारी समुदायले मनाउने जात्रा पछिल्लो समय सबै समुदायको उत्तिकै सहभागिता रहने गरेको छ । जिल्ला सदरमुकाम लगायतका हाटबजार लाग्ने क्षेत्रमा समेत रोपाइँ जात्रा निकालिने गरिएको छ । इलाम बजार मंगलबारे र माइजोगमाईको शुक्रबारेमा रोपाइजात्रा सम्पन्न भइसकेको छ । परम्परागत रुपमा जनै पूर्णिमा र कृष्ण जन्माष्टमीको बीचमा हाटबजार लाग्ने दिन यो जात्रा मनाइँदै आएको छ । रोपाइँ जात्रा हेर्न जिल्ला भित्र र बाहिरबाट सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ । राणाकालमा इलामका तत्कालीन वडाहाकिम गजराजसिंह थापाका पालादेखि यो जात्रा मनाउन सुरु गरिएको बताइएको छ । बि. सं. १९७२ देखि इलाम बजारमा रोपाइँ जात्रा देखाउन थालिएको आयोजक नेपाल भाषा तथा संस्कृति समाज इलामका अध्यक्ष प्रवीण श्रेष्ठले बताए । जात्रा अघि नाग पञ्चमीदेखि लाखे नाच आयोजना गर्ने गरिएको छ । लिम्बु समुदायले जात्राका अवसरमा धान नाच नाच्ने प्रचलन रहेको छ । असार साउन महिनामा रोपाइँ सकेपछि मैजारोको रुपमा रोपाइँ जात्रा मनाइने गरिन्छ । आफ्नो आफ्नो जातिय पोशाक लगाएका युवा युवतीले रोपाइँको अभिनय गरेर यो जात्रा मनाइन्छ । जात्रामा सडकमा मानिसहरुले हलगोरु जोतेको, बाउसे गरेको, रोपाहारले धान रोपेको अभिनय गरिन्छ । जात्रामा लाखे र मुङग्र्रेको पनि नाच आयोजना गर्ने गरिएको छ । यसअ असरमा परापूर्व कालमा निकालिको तर बीचचमा निकाल्न छोडिएको बनकाइँला बन काइँली समेत प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार