काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा मंगलबार विपक्षीतर्फका कानुन व्यवसायीको बहस सकिएको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भइरहेको हो ।
विपक्षीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले मुख्यमन्त्री थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नै रहेको दाबी गरेका छन् । विपक्षीका तर्फबाट बहस गर्दै सरकारी वकिल, कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता बुद्धिबहादुर कटुवालसहित कानुन व्यवसायीले प्रदेशसभाको अध्यक्षता गर्ने इसराइल मन्सुरीले सभामुख वा उपसभामुख नभएको अवस्थामा बाध्यात्मक रूपमा बैठकको अध्यक्षता गरेकाले मत दिन मिल्ने जिकिर गरे ।
न्यायाधीश सपना प्रधान मल्लले मतदानको समय सकिएपछि सच्याउने समयमा प्रदेशसभाको अध्यक्षता गरेका व्यक्तिले मत दिन मिल्ने कि नमिल्ने भन्ने प्रश्न गरेकी थिइन् । जवाफमा कानुन व्यवसायीहरूले सच्याउने समय भनेकै आफैँमा मत दिने समय भएकैले अमान्य नहुने तर्क गरेका थिए ।
मुख्यमन्त्रीका तर्फबाट निजी कानुन व्यवसायीहरू वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, गोविन्द बन्दी, मुक्ति प्रधान, खम्मबहादुर खाती, विजय मिश्र, हरिहर दाहाल, गोपालकृष्ण घिमिरेलगायतले बहस गरेका छन् । प्रदेश सरकार र प्रदेश प्रमुखको तर्फबाट महान्यायाधिवक्ता दिनमणि पौडेल, नायब महान्यायाधिवक्ताद्वय विश्वराज कोइराला र सञ्जीवराज रेग्मी, सहन्यायाधिवक्ता गोविन्द खनालले बहस गरे ।
यसअघि निवेदकका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए । अब निवेदकका तर्फका कानुन व्यवसायीहरूले जवाफी बहस सकेपछि फैसला आउने छ । बुधबार सार्वजनिक बिदा भएकाले अब बिहीबार मात्रै जवाफी बहस हुनेछ ।
प्रतिक्रिया