घर घेरा हालेर प्रहरीले आक्रमण प्रयास गरेको प्रदेश सांसदको आरोप

शुक्रबार, २२ भदौ २०८०
विराटनगर । कोशी प्रदेशका सांसद खगेनसिंह हाङ्गामको ताप्लेजुङस्थित घरमा घेरा हालेर प्रहरीले बिहीबार राति हुलहुज्जत गर्दै अभद्र व्यवहार गरेको छ । केही औपचारिक पोसाकमा र केही सादा पोसाकमा हतियारसहित प्रहरी हाङ्गामको फुङ्लिङ नगरपालिका–५ स्थित घरमा पुगेका थिए । घेरा हालेर उनीहरुले हुलहुज्जत गर्दै अभद्र व्यवहार गरेका छन् । सांसद हाङ्गामको सचिवालयले घटनाको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको छ । प्रहरी अभद्र शैली र उग्र रूपमा प्रस्तुत भएको देखिन्छ । प्रहरीले उनको घरको गेटमा पटकपटक लात्ताले प्रहार गरेको भिडियोमा देखिन्छ । घटना हुनुको पछाडि दुवै पक्ष उत्तिकै जिम्मेवार रहेको बताइएको छ । जात्रामा प्रहरी र कांग्रेसका कार्यकर्ताबीच विवाद भएको थियो । कांग्रेस सांसद हाङ्गाम ताप्लेजुङको निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित भएका हुन् । हाङ्गाम तरुण दल ताप्लेजुङको अध्यक्ष, कांग्रेसको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि पनि हुन् । घर घेरा हालेर आफूमाथि प्रहरीले आक्रमणको प्रयास गरेको उनले बताए । उनका अनुसार घटना राति ११ बजेतिरको हो । ‘प्रहरीले पेस्तोल तेर्स्याएर आक्रमण गर्न खाजेको आरोप उनले लगाएका छन् । प्रहरीका कारण आफू असुरक्षित हुनु परेको उनको भनाइ छ । उनले मदिरा सेवन गरेका प्रहरीले कांग्रेसका कार्यकर्तामाथि कुटपिट गरेको समेत बताए । कांग्रेस कार्यकर्तामाथि कुटपिट भएपछि दिउँसोदेखि नै प्रहरीसँग विवाद र भनाभन भएको हाङ्गामको भनाइ छ । प्रहरीले मादक पदार्थ सेवन० गरेर एक जना बहिनीलाई दुःख दिएपछि कांग्रेसका कार्यकर्ताले त्यसो नगर्न आग्रह गरेपछि वादविवाद भएको उनले सुनाए । आफूले घटना मिलाउन सहजीकरण गरेको तर यही विषयलाई लिएर प्रहरीले घर घेरा हाल्दै आफैंमाथि आक्रमणको प्रयास गरेको उनको भनाइ छ । सुरुमा तरुण दलका कार्यकर्तामाथि प्रहरीले कुटपिट गरेको उनले बताए । काठमाडौंबाट आएका क्षेत्रीय उपसभापति पेमा लामालाई समेत प्रहरीले कुटेको हाङ्गामले बताए । ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी राजन लिम्बूले टोली पठाएर घर घेरा हाल्न लगाउँदै हुलहुज्जत र अभद्र व्यवहार गर्न लगाएको उनको आरोप छ । प्रहरी टोलीमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले दिलिप लिम्बूलाई पक्राउ गरेको र उनी निर्दोष रहेको हाङ्गामले बताए । प्रहरीले भने रातको समयमा मदिरा सेवन गरेर होहल्ला हुन थालेपछि त्यसो नगर्न आग्रह गर्दा प्रहरीमाथि नै आक्रमणको प्रयास भएको दाबी गरेको छ । राति ९ बजेबाट जात्रा बन्द भएपनि बाटोमा बसेर होहल्ला गर्न थालेपछि सम्झाउन गएको प्रहरीलाई हाङ्गामसहितको टोलीले अभद्र व्यवहार गरेको प्रहरीको भनाइ छ । कोशी प्रदेश प्रहरीका प्रवक्ता एसपी ऋषिराम कँडेलका अनुसार घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार