रुँदै समस्या सुनाए महिला कैदीबन्दीले न्यायाधीश र प्रशासकलाई

शुक्रबार, २२ भदौ २०८०
विराटनगर । जिल्ला कारागार मोरङमा शुक्रबार तिजका अवसरमा दर खाने कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा न्यायाधीश, प्रमुख जिल्ला अधिकारी र कानुन व्यवसायीलगायत कैदीबन्दीको सहभागिता थियो । उच्च अदालत विराटनगर बार एशोसिएशन महिला समितिले कार्यक्रम आयोजना गरेको थियो । त्यस क्रममा महिला कैदीबन्दीहरुले रुँदै आफ्ना समस्या राखेका थिए । कार्यक्रममा उच्च अदालत विराटनगरका निमित्त कायम मुकायम मुख्य न्यायाधीश दिनेशप्रसाद यादव, न्यायाधीश किरणकुमारी गुप्ता, जिल्ला अदालत मोरङका न्यायाधीश रोमनाथ अधिकारी, प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, उच्च सरकारी वकिल कार्यालय विराटनगरका प्रमुख एवं सहन्यायाधिवक्ता कोषहरि निरौला, कानुन व्यवसायीलगायत सहभागी थिए । कार्यक्रममा प्रजिअ यादवले महिला कैदीबन्दीलाई आआफ्ना समस्या राख्न आग्रह गरेका थए । त्यसपछि कोशी प्रदेशकी पूर्वसांसद गुलेफुन खातुन समस्या सुनाउन थालिन् । सरकारी छाप दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएर कैद भुक्तान गरिरहेकी उनले कारागारभित्र सुत्ने ठाउँ र खानेपानीको अभाव रहेको सुनाइन् । कारागारभित्र पानीको एउटामात्र धारा रहेको एवं त्यसमा पनि कहिलेकाहीँ मात्र पानी आउने गरेको उनले सुनाइन् । सुत्ने र बस्ने ठाउँको पनि अभाव रहेको उनले बताइन् । त्यसपछि अरु महिला कैदीबन्दीले पनि समस्या बेलिबिस्तार लगाएका थिए । कैदी सरिता राईले रातभर सुत्न नपाइने बताइन् । रातभर खुला आकाशमुनि भुइँमा सुत्नुपर्ने अवस्था रहेको उनले रुँदै सुनाएकी थिइन् । सवारी ज्यान मुद्दामा कारागारमा रहेकी शान्तिकुमारी मुखियाले कारागारभित्र बस्नलाई गाह्रो भइरहेको बताइन् । घरमा बालबच्चा सानै रहेको र कारागारभित्र बस्न निक्कै मुस्किल परिरहेको उनको गुनासो थियो । धरान घर भएकी कैदी गंगाकुमारी खड्काले आफ्नो नाबालक छोराको उद्धार गरिदिन आग्रह गरिन् । मानव बेचबिखन मुद्दाकी कैदी उनले आफ्नो साथमा ५ बर्षे छोरा रहेको सुनाइन् । श्रीमान केदार खड्का झुम्का कारागारमा छन् । उनी केदारकी कान्छी श्रीमती हुन् । प्रजिअ यादवले कैदीबन्दीका समस्यालाई आफूले गम्भीर रुपमा लिएको बताए । चौकीदारको समूहको धम्की, डर र त्रासका कारण अरुबेला यसरी कैदीबन्दीले खुलेर कुरा राख्न सक्दैनन् । विरोध गर्नेलाई कुटपिट गर्ने र यातना दिने गरिएको छ । महिला कैदीबन्दीले खुलेर कुरा राख्ने क्रममा महिला कारागारभित्र पनि अनैतिक र गैरकानुनी कामहरु हुने गरेको खुलाएका छन् । महिला कारागारको चौकीदार मञ्जु सरदार छिन् । कारागारभित्र प्रतिबन्धित वस्तु लैजाँदा पनि जाँच गर्ने र त्यसलाई रोक्ने काम नभएको पाइएको छ । कारागारको सुरक्षाका लागि सशस्त्र प्रहरीका डीएसपी र नेपाल प्रहरीका सइको नेतृत्वमा टोली परिचालित छ । गेटबाट भित्र छिर्नेबित्तिकै सशस्त्र प्रहरीले केरकार र जाँच गर्छन् । तर, प्रतिबन्धित वस्तु भने उनीहरुकै सहयोगमा कारागारभित्र छिर्ने गरेको छ । महिला कारागारभित्र प्रतिबन्धित सूर्तिजन्य वस्तु लैजान सहजीकरण गरिदिने गरेको आरोप सशस्त्र प्रहरीका डीएसपी दिलबहादुर रायमाझीमाथि लागेको छ । गत वैशाख १८ गते उनी कारागारमा कार्यरत छन् । कारागारमा उनको नेतृत्वमा सशस्त्र प्रहरी छ । चौकीदारसँग साँठगाँठ गरेर रायमाझीले प्रतिबन्धित वस्तु लैजान दिने गरेको गुनासो आएपछि कारागारभित्र उनको भूमिका शंकास्पद देखिएको हो । डीएसपी रायमाझी भने कारागारभित्र चुरोट र खैनीमा रोक नलगाइएको बताउँछन् । जिल्ला कारागार मोरङमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको छ । कारागार ५० महिला र २ सय ५० जना पुरुष गरेर ३ सय जना क्षमताको हो । महिला १ सय २ र पुरुष ९ सय ४८ गरेर १ हजार ५५ जना कैदीबन्दी छन् । महिला कैदीबन्दीसँग ५ जना नाबालक पनि छन् । क्षमताभन्दा तीन गुणा बढी राखिएपछि कैदीबन्दी कोचाकोच गरेर बस्नु पर्ने अवस्था छ । उनीहरुलाई खान, बस्न र सुत्नकै समस्या छ । पालो गर्दै सुत्नुपर्ने बाध्यता रहेको गुनासो कैदीबन्दीको छ । कारागारका निमित्त जेलर तुलसी पौडेलले कारागार पुरानो र साँघुरो हुँदा कैदीबन्दी समस्यामा परिरहेको बताए । नयाँ भवन निर्माणधीन अवस्थामा रहेका कारण बनिसकेपछि सहज हुने उनको भनाइ छ । पौडेलका अनुसार महिला कैदीबन्दीको समस्या सुनेपछि केहीका आफन्तलाई कारागारमा बोलाइएको छ । नाबालक जिम्मा लगाउने विषयमा परिवारसँग छलफल गरिएको उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार