कोशीमा बन्ला एमाले–कांग्रेस मिलेर सरकार ?

शनिबार, २३ भदौ २०८०
विराटनगर । एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले शुक्रबार मुख्यमन्त्री पदको शपथ लिएलगत्तै भने– अब सहमतिको सरकार बनाउने हाम्रो पहल हुनेछ । सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका निवर्तमान मुख्यमन्त्री उद्धव थापाले पनि कार्कीको नेतृत्वमा सरकार बनेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै भने– कांग्रेस र एमाले मिलेर सरकार बन्न सक्छ । यी दुबै नेताको समान आशयको भनाइ आए पनि फरक के छ भने मुख्यमन्त्री कार्की आलोपालो सरकारको पक्षमा छैनन् । थापाले भने आधा आधा कार्यकाल जिम्मेवारी लिने गरी मिलेर सरकार बनाउन सकिने धारणा व्यक्त गरेका छन् । अनेक रस्साकस्सीका बीच कोशी प्रदेशमा सरकार गठनको कुरा विवादित हुँदै आएको छ । सरकार बनाउने नाममा संविधान विपरीतका काम पनि हुँदै आएका छन् । त्यसलाई सर्वोच्च अदालतले सच्याउँदै आएको छ । कोशी प्रदेश सभामा रहेको सांसदहरुको ‘अंकगणितीय अवस्था’ का कारण अस्थिरता हुन नसकिरहेको अवस्थामा अब फरक तरिकाले सरकार बनाउने विषय चर्चामा आएको हो । हाल गठबन्धनमा रहेका दलहरु कसैको पनि बहुमत पुग्ने अवस्था नहुँदा छोटो समयमै सरकार परिवर्तन हुने, राजनीतिक स्थिरता नहुने देखिएको छ । यसले गर्दा प्रदेश सरकार प्रभावकारी बन्न पनि सकेको छ । यसै पनि पछिल्ला दिनमा आम जनमानसमा संघीयताप्रति अनेक कारणले वितृष्णा फैलँदै गएको अवस्थामा यस्तो हुनु अझ नकारात्मक प्रभाव पार्ने खालको हुने नै भयो । पछिल्लो पटक पनि प्रदेशमा अल्पमतको सरकार गठन भएको छ । ठूलो दलका हैसियतले एमाले नेतृत्वमा सरकार बने पनि उसँग पर्याप्त बहुमत छैन । उद्धव थापाले विश्वासको मत लिँदा प्रदेशसभा बैठककै अध्यक्षता गरिरहेका अध्यक्ष मण्डलका सदस्य इस्राईल मन्सुरीको समेत मत जोडेपछि सर्वाेच्च अदालतले थापालाई असंवैधानिक करार गर्दै हटाएको थियो । त्यसपछि कार्की अलपमतको मुख्यमन्त्री बनेका छन् । उनले संवैधानिक प्रावधानअनुरूप १ महिना (असोज २१) भित्र सदनबाट विश्वासको मत लिइसक्नुपर्छ । अहिलेकै अवस्थामा उनले विश्वासको मत पाउने सम्भावना छैनन । उनको पक्षमा ४६ सिट मात्रै छ । एमालका ४० सांसद छन् भने उसलाई साथ दिइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ जना सांसद छन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमत पुर्याउन कम्तीमा ४७ सांसद चाहिन्छ । सरकार फेरि पनि फेरिने अवस्था आयो वा विश्वासको मत नपाउने अवस्था भयो भने मध्यावधि निर्वाचन गर्नुपर्ने हुन सक्छ । यसो गर्न कुनै पनि दलले चाहेका छैनन् । बीचमै चुनावमा जाने हो भने जनतामा पनि राम्रो सन्देश जानेछैन । यही अवस्थालाई मध्यनजर गर्दै प्रदेशसभाका दुई ठूला दलहरू एमाले र कांग्रेसबीचको सरकार बनाउनेतिर सोच्न थालेका छन् । निवर्तमान मुख्यमन्त्री उद्धव थापाले मध्यावधि निर्वाचनमा सकेसम्म जान नदिने बताइसकेका छन् । मुख्यमन्त्री कार्कीको भनाइ पनि त्यस्तै छ । दुवै नेताले सहमतिका आधारमा अघि बढेर सरकार बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राई प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट जोगाउनका लागि दुई मुख्य पार्टी मिलेर सरकार बनाउन सकिने अवस्था आउन सक्ने बताउँछन् । एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीको पनि भनाइ यस्तै छ । सहमतीय सरकार बन्न आवश्यक रहेको भन्दै उनले मिलेर बहुमतको सरकार बनाए स्थिरता हुने बताए । ठूला दल एमाले र कांग्रेस मिलेर गएको अवस्थामा ५९ सिट हुन्छ । यो सरकारका लागि पर्याप्त बहुमत हो । सत्ताका लागि खिचातानी गरेर, गैरसंवैधानिक प्रक्रिया अपनाएर छोटो समयमा सरकार फेरिरहने अवस्था पक्कै निरासाजनक हो । यस्तो अवस्थाबाट प्रदेशलाई मुक्त गर्न जिम्मेवार दलहरुले मिलेरै अघि बढ्नुको विकल्प नरहेको विश्लेषण हुने गरेको छ । यसै पनि कोशी प्रदेश दुई कार्यकाल नपुग्दै धेरै संख्यामा मुख्यमन्त्री बनाउनेमा गनिँदै आएको छ । यसप्रति अनेक कटाक्ष र आलोचना पनि भइरहेको छ । त्यही कारण अब जुन जुन दल मिलेर सरकार बनाउँदा स्थिरता हुन्छ, त्यसतर्फ गम्भीर भएर ध्यान दिनु अत्यन्त जरुरी भइसकेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार