प्रदेश नामकरणविरुद्ध पहिचानवादी पक्षधरद्वारा विराटनगरमा प्रदर्शन

मंगलबार, ०२ असोज २०८०
  विराटनगर । प्रदेशको नाम ‘कोशी’ राखिएसँगै विरोध गर्दै आएका पहिचान पक्षधरहरूले आज प्रदेश राजधानी विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । सुनसरीको इटहरीबाट मोटरसाइकल र्याली प्रदर्शन गर्दै उनीहरु विराटनगर आएका थिए । विराटनगर आएर उनीहरुले महेन्द्र चोकमा विरोध प्रदर्शन गरेका हुन् । ‘कोशी नाम खारेज गर’, ‘मुख्यमन्त्री राजीनामा दे’ जस्ता नारा लगाउँदै प्रदर्शनकारीले विरोध गरे । जिल्ला प्रशासन कार्यालय मोरङले सोमवारदेखि विराटनगर महानगरपालिकाका केही स्थानलाई २ महिनासम्म निषेधित क्षेत्र तोकेको छ । प्रदेशसभा पूर्वमा रहेको देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म निषेधित क्षेत्र तोकिएको छ । यसैगरी, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवासको ३ सय मिटर वरपर क्षेत्र, प्रदेश प्रमुखको कार्यालयबाट ३ सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालयको डाँफे चोकदेखि पूर्वी क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ । प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखेको थियो । प्रदेशको नामकरणसँगै पहिचानवादी संगठनहरुले विरोध प्रदर्शन गर्दै आएका छन् । नामकरणको केही समयपछि आन्दोलनकारीले विराटनगर केन्द्रीत प्रदर्शन गर्दै आएका थिए । आन्दोलनका क्रममा पहिचान पक्षधर एकजनाको मृत्यु भएको थियो । पटक पटक भएका झडपहरुमा दर्जनौं प्रदर्शनकारी र प्रहरी घाइते भएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार