इलाम । कहिले उपकरण अभाव, कहिले स्वास्थ्यकर्मी । भवनहरु ठूला र भव्य छन् । झट्ट देख्दा अस्पताल निकै सुविधायुक्त होला भन्ने लाग्छ । तर यस्तो छैन ।
सदरमुकामस्थित जिल्ला अस्पतालबाट गुणस्तरीय सेवा पाउने स्थानीय बासिन्दाको अपेक्षा वर्षौदेखि पूरा हुन पाएको छैन ।
पर्याप्त दक्ष जनशक्ति नहुँदा बिरामीले भरपर्दो स्वास्थ्य उपचार सेवा पाउन सकेका छैनन् ।
यस्तै अवस्था भए पनि अस्पतालमा बिरामीको चाप उच्च हुने गरेको छ । तर भाइरल ज्वरो र सामान्य रुघाखोकीका बिरामी समेत रेफर भइ तराईका अस्पतालमा पुग्नु पर्ने बाध्यता छ ।
झापाका महंगा अस्पताल र विराटनगर एवम् काठमाडौ जानु परेको नागरिकहरुको भनाई छ ।
जनशक्तिको अभाव अनि उपचार सेवा भरपर्दो नभएको भन्दै विगतमा अस्पताल परिसरमा ‘धामी झाँक्री शिविर’ सञ्चालन गरी सरकारलाई दबाव दिएका घटना पनि छन् ।
यहाँ पर्याप्त मात्रामा बेड समेत छैनन् । एक महिनायता अस्पतालमा बिरामीको चाप उच्च छ ।
भाइरल ज्वरो, स्क्रब टाइफस र डेंगुका बिरामीको चाप बढेको छ । बिरामीलाई भुइँमा सुताएर उपचार गरिँदै आएको छ ।
आकस्मिक कक्षमा आएका बिरामीलाई बेड अभाव हुँदा भुईँमै राखेर उपचार गरिँदै आएको छ ।
आकस्मिक कक्षमा बिरामीको चाप भए पनि ३–४ जना स्वास्थ्यकर्मीले उपचार सेवा दिनुपर्ने बाध्यता छ ।
आकस्मिक कक्षमा नौवटा मात्र बेड छन् । तर दैनिक ८० जनासम्म बिरामीहरु भर्ना हुँदा बेड अभावले भुइँमै राखेर उपचार गर्न बाध्य भइरहेको इमरेजेन्सी शाखाका इन्चार्ज टिका लुइँटेलको भनाई छ ।
जनशक्ति अभावकै कारण बिरामीले समयमा उपचार पाउन नसकेको गुनासो गरिरहेका छन् । अस्पतालमा डेंगुका मात्रै दैनिक ६० जना बिरामीहरु आउने गरेको मेडिकल सुपरिटेन्डेट डाक्टर प्रभु शाहको भनाई छ ।
बिरामीले स्वास्थ्य सेवा लिन घण्टौ लाइनमा बस्नुपर्ने बाध्यता छ । यस अस्पतालमा नौजना विशेषज्ञसहित १६ डाक्टरको दरबन्दी रहेकोमा हाल एकजना विशेषज्ञ डाक्टर दरबन्दीमा कार्यरत छन् । बाँकी करार र छात्रवृत्तिका डाक्टरले काम गरिरहेका छन् ।
अस्पतालको ओपिडीमा पनि दैनिक ३–४ सय जनासम्म बिरामी आउने गरेका छन् ।
अस्पतालमा बिरामीको चाप बढिरहे पनि उपचार गर्न आउनेलाई स्वास्थ्यकर्मीले २४ सै घण्टा खटेर सेवा प्रवाह गरिरहेका छन् ।
जटिल अवस्थाका बिरामी बाहेक अन्य बिरामीलाई जिल्ला बाहिरका अस्पतालमा रेफर भने अस्पतालले नगरेको जनाएको छ । तर स्क्रब टाइफस लगायतका बिरामीको उपचार इलाममा सम्भव छैन ।
जिल्लाका राजनैतिक दल र नेताले हरेक चुनावमा मुख्य चुनावी एजेण्डा नै इलाम अस्पतालको सेवा बिस्तार भनेर गर्ने गरेका छन् । तर चुनाव धेरै पटक भयो यहाँको अवस्था सुधार भएन ।
चुनाव जितेर प्रधानमन्त्री, सभामुखसम्म भए, नेताको जीवनशैली र रहनसहन फेरीयो तर इलाम अस्पतालको सेवा बिस्तार समवन्धी गुणस्तर फेरिएन।
अझ यहाँको सेवा बिस्तारमा नागरिक दिक्क भइसकेका छन् । स्वास्थ्य क्षेत्रमा इलाममा कुनै सुधार भएको छैन ।
यहाँबाट वार्षिक रुपमा धेरै नागरिक बसाइ सरेर तराइ क्षेत्रमा गइरहेका छन् । मात्र स्वास्थ्य क्षेत्रमा सुधार हुन सक्यो भने पनि बसाइसराई रोकिने थियो कि ? यस बिषयमा यहाँबाट निर्वाचित जनप्रतिनिधिले सोच्न आवश्यक छ ।
प्रतिक्रिया