एमाले कोशी प्रदेश नेतृत्वका लागि खतिवडा र ढकालको उम्मेदवारी

शनिबार, १३ असोज २०८०
  विराटनगर । नेकपा एमाले कोशी प्रदेश अध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागि घनश्याम खतिवडा र विनोद ढकालको उम्मेदवारी परेको हो । प्रदेशको नेतृत्वका लागि सहमति जुटाउने प्रयास भएको थियो । दुवै आकांक्षीले आफ्नो दाबी नछाडेपछि अब निर्वाचनबाट नेतृत्व छनोट गरिने भएको छ । अधिवेशन निर्वाचन समितिका अनुसार अध्यक्ष पदका लागि खतिवडा र ढकालको उम्मेदवारी दर्ता भएको छ । खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल र समर्थकमा छत्रपति प्याकुरेल छन् भने ढकालको प्रस्तावकमा मुकेश बुढाथोकी र समर्थकमा महेश भट्टराई रहेका छन् । प्रदेश कमिटीका लागि अरु पदमा पनि उम्मेदवारी दर्ता गराउने क्रम जारी छ । उम्मेदवारी दर्ताको क्रम सकिएपछि आजै नामावली प्रकाशन गरिने समितिले जनाएको छ । नेतृत्व चयनका लागि भोलि आइतबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म मतदान हुने जनाइएको छ । प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन् । एमाले कोशी प्रदेश समिति पदाधिकारीसहित २१५ सदस्यीय हुनेछ । अधिवेशनको हिजो एक कार्यक्रमका बीच अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार