एकसमय फुटबल जगतमा राज गरेका सुपरस्टर फुटबलर क्रिस्टियानो रोनाल्डो साउदी अरेबियनको क्लब अल नासरमा अनुबन्ध भएका छन् । उनले अल नासरसग २०२५ सम्मको सम्झौता गरेका छन् ।
विवादास्पद अन्तरवार्तापछि म्यानचेस्टर युनाइटेडबट बहिर्गमनमा परेका पोर्चुगलका कप्तान फ्रिएजेन्ट रहेका थिए । रोनाल्डोले फुटबलको इतिहासमा सबैभन्दा धेरै तलब प्राप्त गर्ने बताइएको छ । उनले वार्षिक १७.७ करोड पाउन्ड प्राप्त गर्ने छन् ।
३७ वर्षीय खेलाडीले फरक देशमा नयाँ फुटबल लिग अनुभव गर्न आफू उत्सुक रहेको बताएका छन् । नौपटकको साउदी लिग विजेता अल नासरले रोनाल्डोको अनुबन्धलाई नयाँ इतिहासको सुरुवातको रूपमा व्याख्या गरेको छ । रोनाल्डोलाई अर्को साउदी क्लब अल हिलाललेसमेत अनुबन्धको प्रयास गरेको थियो ।
नोभेम्बरको सुरुमा स्ट्राइकरले टकटिभीका लागि पियर्स मोर्गनसँगको एक अन्तर्वार्तामा उनले युनाइटेडबाट ’धोखा’ भएको महसुस गरेको, प्रबन्धक एरिक टेन ह्यागलाई सम्मान नगरेको र क्लबबाट जबरजस्ती बाहिर निकाल्न लागिएको बताएका थिए। युनाइटेडका लागि ३४६ खेलमा १४५ गोल गरेका रोनाल्डोले रियल म्याड्रिड गएको ११ वर्षपछि अगस्ट २०२१ मा ओल्ड ट्राफोर्डमा पुन: फर्किएका थिए ।
रोनाल्डोको साउदी सरुवाले उनका समर्थकमा भने निराशा पैदा भएको छ । साउदी लिग खासै चर्चामा नभएका कारण अब पहिला जस्तो रोनाल्डोको खेल हेर्न नपाउने भएका कारण पनि समर्थक भने उनको सरुवालाई लिएर दुखी बनेका छन् ।
प्रतिक्रिया