इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका कोशी प्रदेश अधिवेशनमा निर्वाचनको निष्पक्षतामाथि नै प्रश्न उठेको छ ।
एमाले नेता बिनोद ढकालले आफूलाई हराउन कोशी प्रदेशको सत्ता प्रयोग गरिएको आरोप लगाउँदै निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएका हुन् । उनले बिराटनगरमा पत्रकार सम्मेलन गर्दै यस्तो प्रश्न उठाएका हुन् ।
एमाले कोशी प्रदेशको पहिलो अधिवेशनमा अर्का नेता घनश्याम खतिवडासँग पराजित भएका अध्यक्षका प्रत्यासी ढकालले हिक्मत कार्की नेतृत्वको सरकारमाथि गम्भीर आरोप लगाएका हुन्। विराटनगरमा पत्रकार सम्मेलन गर्दै ढकालले विश्वासको मत नलिई प्रदेश सरकार विस्तार गरेर आफूलाई हराउने काम भएको बताए । ‘मलाई कस–कसले हराउन के–के गरे सबै तपाईंहरुलाई थाह छ’– उनले अगाडि भने– ‘यहाँको प्रदेश सरकार पनि मलाई हराउन प्रयोग भयो ।
विश्वासको मत लिनुअघि नै मन्त्री पनि मलाई हराउने योजनासहित बनाइएको हो ।’ तर, ढकालले निर्वाचनको नतिजा स्वीकार्ने बताए । अहिले पनि एमालेको मूल नेतृत्वकै बाटोमा रहेको उनले बताए । ढकालले खतिवडा नेतृत्वको कोशी प्रदेश कमिटीलाई बधाइ पनि दिएका छन् । उनले खतिवडा कार्यसमितिलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । तर, ढकालले आफूलाई मत हाल्ने नेता कार्यकर्तालाई विभेद भएमा उनीहरुको पक्षमा उभिने बताएका छन् । उनले बुधबार भएको शपथ ग्रहण कार्यक्रममा आफूलाई प्रतिद्वन्द्वीको हैसियतमा बोल्न नदिइएको पनि गुनासो गरे । औपचारिक रुपमा मञ्चबाट बधाई दिन नपाएकाले पत्रकार सम्मेलन गर्नुपरेको उनले बताए । उनले निर्वाचनको निष्पक्षतामा पनि प्रश्न उठाएका छन् ।
‘पार्टीका नेताहरुको घेराबन्दी, कार्यकर्तालाई थर्काउने र फकाउने कार्य भयो, त्यो कहाँबाट र कसरी भएको कुरा प्रष्ट रहेको उनले बताए । ढकालले कसैको नाम नलिई पार्टीका स्थायी कमिटी सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीलाई देखाएर निर्वाचन प्रभावित पार्न खोजेको बताए । त्यहीकारण निर्वाचनको निष्पक्षतामा प्रश्न उठाउने अवस्था आएको उनले जिकिर गरे ।
प्रतिक्रिया