धरान, २८ असोज । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत चिकित्सहरुले प्रतिष्ठानका पदाधिकारीहरुलाई बर्खास्त गर्न सरकारसँग माग गरेका छन् ।
रोकिएको बढुवा प्रक्रिया सुचारु गर्न मागसहित स्वास्थ्यमन्त्री समक्ष सामुहिक राजीनामा बुझाएका आन्दोलनरत चिकित्सक शिक्षकहरुले आज पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानका चारै जना पदाधिकारीहरुलाई बर्खास्त गर्न सरकारसँग माग गरेका हुन् ।
चिकित्सकहरुले यो अवस्था सिर्जना हुनुमा पदाधिकारीहरु मुख्य जिम्मेवार रहेको बताउँर्दै उनीहरुलाई बर्खास्त गर्नुपर्ने माग गरेका हुन् । उनीहरुले प्रतिष्ठानलाई अनिर्णयको बन्दीमा राख्न नहुने भन्दै दुई वटा विकल्प समेत अघि सारेका छन् । समस्या सिर्जित हुनुको मुख्य कारक प्रतिष्ठानका पदाधिकारीहरु रहेको आरोप लगाउँर्दै उनीहरुलाई बर्खास्त गर्नुपर्ने अथवा सामुहिक राजीनामा स्विकृत गरेर निकास निकाल्न माग गरेका छन् । सामुहिक राजीनामा दिइसकेकोले प्रतिष्ठानका स्वास्थ्य सेवा, शैक्षिक कार्यक्रम कुनै पनि जिम्मेवारी बहन गर्न आफुहरु बाध्य नरहेको आन्दोलनरत चिकित्सहरुले अडान कायमै राखेका छन् ।
शिक्षण कल्याण समाजका अध्यक्ष डा. सेराज अहमद खानले आफुहरुले राजीनामा दिइसकेकोले कुनै पनि जिम्मेवारीमा नरहेको बताए । उनका अनुसार प्रतिष्ठानका पदाधिकारी समस्या समाधान गर्न भन्दा पनि राजनीतिक दाउपेचमा लागीरहेका छन् ।
चिकित्सहरुको आन्दोलनले प्रतिष्ठानका सम्पूर्ण सेवाहरु प्रभावित बनेको बताउँर्दै समस्याको निकास निकाल्न लोकसेवा आयोगसग परामर्श लिइरहेको प्रतिष्ठानले जनाएको छ । कानुनी जटिलता नआउने गरी सामुहिक प्रयत्नबाट समस्याको हल गर्नतर्फ सबै लाग्नुपर्ने बताउदै प्रतिष्ठानका रजिष्टार प्रा.डा. सूर्यप्रसाद संग्रौलाले सेवामा फर्कन आन्दोलनरत चिकित्सकहरुलाई अपिल समेत गरेका छन् ।
चिकित्सक शिक्षकहरुको आन्दोलनका कारण प्रतिष्ठानमा दैनिक सेवा लिन आउने विरामीहरु उपचार सेवाबाट बञ्चित भएका छन् भने प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीको पठन पाठन ठप्प बनेको छ । सात महिनायता रोकिएको बढुवा प्रक्रिया सरोकारवाला निकायको सहमतीमा एक महिनाभित्र सुरु गर्ने प्रतिष्ठानसँग गत भर्दौ २४ गते प्रतिष्ठान र आन्दोलनरत पक्षबीच सहमती भएको थियो । तर, महिना दिन वितिसक्दा समेत माग पुरा गर्नतर्फ प्रतिष्ठानले चासो नदिएको भन्र्दै शिक्षक कल्याण समाजको नेतृत्वमा प्रतिष्ठानका १ सय ५० जना चिकित्सकहरुले स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेत समक्ष सामुहिक राजीनामा बुझाइसकेका छन् ।
सात वर्षदेखी प्रतिष्ठानमा कार्यरत एसिसटेन्ट प्रोफेसर, एसोसियट प्रोफेसर र एडिसन प्रोफेसरहरु गरी १ सय ७७ जनाको आन्तरिक पदपुर्ति तथा बढुवा प्रक्रिया रोकिएको छ । तर, सात महिना अघि सुरु भएको बढुवा प्रक्रिया लोकसेवा आयोगले शिक्षक सेवाका सर्त र सुविधा सम्बन्धी नियमावली २०६९ को प्रस्तावित मस्यौदा स्विकृत गरी आयोगबाट मात्र पतपुर्ति प्रक्रिया अगाडी बढाउन प्रतिष्ठानलाई निर्देशन दिएपछि शिक्षकहरु आन्दोलन गर्दे आएका छन् ।
प्रतिक्रिया