खेमराज सापकोटा, इटहरी। सुनसरीमा चेक बाउन्सका घटनामा दोब्बरले वृद्धि भइरहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले उपलब्ध गराएको तथ्याङ्कमा आर्थिक वर्ष २०७७/७८ मा ४० वटा मुद्दा दर्ता भएकोमा ०७८/७९ मा त्यो सङ्ख्या बढेर ९३ पुगेको देखिन्छ । जसमा १० करोड ९३ लाख १४ हजार ६ सय ३७ बिगो रकम उल्लेख गरिएको छ ।
तथ्याङ्कमा त्यसपछिको आर्थिक वर्ष २०७९/८० मा अघिल्ला आर्थिक वर्षका तुलनामा यो सङ्ख्या दोब्बर बढिले वृद्धि भई मुद्दा सङ्ख्या ३०८ मा पुगेको छ । त्यसमा १४४ मुद्दा भने फर्छ्यौट हुन बाँकी छ । त्यसमा ४२ करोड ३३ लाख १६ हजार ३ सय ३ रकम बाउन्स भएको देखिएको छ ।
प्रहरीले दिएको तथ्याङ्कमा चालु आर्थिक वर्ष २०८०/८१ का २ महिनामा बैङ्किङ कसुर प्रकरण अन्तरगत चेक बाउन्सका ७८ मुद्दा दर्ता भएका छन्, जसमा १० वटा मुद्दा फर्छ्यौट हुँदा ६८ वटा मुद्दा बाँकी नै छन् ।
२ महिनाको तथ्याङ्कलाई हेर्दा पनि मुद्दा करिब दोब्बरले वृद्धि हुने देखिन्छ । सुनसरी प्रहरीका डिएसपी नवीन कृष्ण भण्डारीका अनुसार पछिल्लो समय चेक बाउन्सका मुद्दा दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको छ । उनले आवश्यक कानुनको अभावमा पनि मुद्धाहरु बढिरहेको तर्फ सङ्केत गर्दै हालै प्रस्ताव भएको कानुनको छिनोफानो पछि थप अनुसन्धान र पीडितलाई न्याय हुने बताए ।
अहिले भने चेक बाउन्समा बिगोबमोजिम जरिवाना र तीन महिनासम्म मात्र कैद हुने व्यवस्था रहेको छ । सरकारले केही समयअघि मन्त्रीपरिषद्बाट पारित गरेको विधेयकमा चेक बाउन्सको विषयलाई बैङ्किङ कसुर मान्ने र त्यस्तोमा अधिकतम दुई वर्षसम्म कैद सजाय हुनसक्ने व्यवस्था प्रस्ताव गरिसकेको छ ।
संशोधन विधेयकमा प्रस्ताव भएको चेक बाउन्स भएको प्रमाणित भएमा चेक जारी गरिदिने खातावालाबाट धारकलाई बिगो बमोजिमको रकम भराई चेक जारी गरिदिने खातावालालाई बिगोको पाँच प्रतिशत जरिवाना साथै जेल सजायको समेत प्रस्ताव गरिएको छ ।
बाउन्समा पाँच लाख रुपैयाँसम्म बिगो भए एक महिनासम्म कैद, पाँच लाख रुपैयाँभन्दा बढी दश लाख रुपैयाँसम्म बिगो भए तीन महिनासम्म कैद, दश लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्म बिगो भए ६ महिनासम्म कैद र पचास लाख रुपैयाँभन्दा बढी जतिसुकै बिगो भए पनि दुई वर्षसम्म कैद सजाय प्रस्ताव भएको हो ।
प्रतिक्रिया