कोशीको चाडपर्व सुरक्षा : बढाइयो प्रहरी सक्रियता, नाकामा कुकुर परिचालन

मंगलबार, ३० असोज २०८०
विराटनगर/ कोशी प्रदेशमा प्रहरी सक्रियता बढाइएको छ । चाडपर्वलाई मध्यनजर गर्दै सुरक्षा कडाइ गर्न थालिएको हो । विशेष गरेर भारतसँग सीमा जोडिएका स्थान सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिन्छ । पछिल्लो समय सशस्त्र प्रहरीको समेतको समन्वयमा नेपाल प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाएको छ । दसैं, तिहार, छठलगायतका चाडपर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन तथा १४ वटै जिल्लाको सुरक्षा व्यवस्था मजवुत बनाउन सबै उपाय अवलम्बन गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पछिल्लो समय मानवीय चहलपहल, भीडभाड तथा आर्थिक गतिविधि धेरै स्थान प्रहरीको विशेष निगरानीमा परेका छन् । ठाउँठाउँमा प्रहरी परिचालन गरेर चोरी, लुटपाट र डकैती हुनसक्ने सम्भावना धेरै रहेको स्थानको निगरानी बढाउन थालिएको छ । बैंक, वित्तिय संस्था एवं आर्थिक गतिविधी धेरै हुने ठाउँ, महत्वपूर्ण प्रतिष्ठान, सुनचाँदी पसल, सरकारी तथा गैर सरकारी कार्यालय, एटीएम बुथ, सार्वजनिकस्थल र पसलहरुमा सुरक्षा सतर्कता बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार प्रहरी उपस्थित बढाएर सबै ठाउँको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरी सक्रियता बढाउन र सुरक्षा व्यवस्था मजवुत बनाउन अपुग प्रहरी माथिल्लो कार्यालयबाट मगाइएको छ । चार्डपर्वमा सुरक्षाको उचित प्रबन्ध मिलाउन सम्भावित र विगतमा भएका घटना एवं अपराधिक गतिविधिलाई मध्यनजर गर्दै त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाइएको दाहाल बताउँछन् । अपराध नियन्त्रणका लागि सादा पोसाक तथा हतियारसहितका प्रहरी परिचालन गरिएको छ । संवेदनशील क्षेत्र तथा भित्री सडक र एकान्त स्थानमा प्रहरीको ‘पिकेट ड्युटी’, ‘क्वीक रेस्पोन्स टिम’ तथा साइकल, मोबाइल र पैदल गस्ती परिचालन गरिएको छ । मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेल धार्मिक तीर्थस्थल, शक्तिपीठ, मठ मन्दिरलगायत भक्तजनहरुको भीडभाड एवं घुइँचो हुने स्थानको सुरक्षामा विशेष ध्यान पुर्याइएको बताउँछन् । मन्दिर तथा धार्मिक तीर्थस्थलको सुरक्षामा महिला प्रहरी परिचालन गरिने भएको छ । भीडभाडमा हुने चोरी, डकैती र लुटपाटका घटना, मादक पदार्थ सेवन (मापसे)बाट हुने झैझगडा एवं अपराध नियन्त्रण, कालो बजारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव नियन्त्रणलगायतमा पनि प्रहरीले ध्यान दिइरहेको एसपी पोखरेलको भनाइ छ । चाडपर्वमा यातायातको सहज उपलब्धता, ट्राफिक व्यवस्थापन, तस्करी, हातहतियार तथा लागूऔषध र मदिराको अवैध ओसारपसार नियन्त्रण प्रहरीको प्राथमिकतामा छन् । जुवा, तासलगायत गैह्रकानुनी खेलहरु र शान्ति भड्काउन खोज्नेलाई पूर्णरूपमा नियन्त्रणमा लिइने एसपी पोखरेल बताउँछन् । उनका अनुसार उद्योग, कलकारखाना, महत्वपूर्ण प्रतिष्ठान, लोकमार्ग तथा अन्य सहायक राजमार्गको सुरक्षा अवस्थामा कुनै कमी आउन नदिइ होटल, लज एवं रेष्टुरेन्टको नियमित चेकजाँचको व्यवस्था मिलाइएको छ । शंकास्पद व्यक्तिहरु एवं सार्वजनिकस्थलमा हुने गतिविधिको निगरानी, पटकाको ओसारपसार तथा बेचबिखन, सीमा क्षेत्रमा कडाइ, पकेटमारलगायत अपराधिक प्रवृत्तिका मानिसहरुको पहिचान र नियन्त्रण थालिएको प्रहरीले जनाएको छ । मापसे गरेर सार्वजनिक स्थलहरुमा होहल्ला एवं झैझगडा गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही अघि बढाइने जानकारी पोखरेलले दिए । सवारी दुर्घटनामा कमी ल्याउन सवारी साधनमाथि आकस्मिक चेकजाँच सुरु गरिएको छ । चाडपर्वलाई हर्षोल्लासपूर्ण बनाउन विभिन्न जनचेतनामुलक कार्यक्रम भइरहेको छ । प्रहरीले चाडपर्वको मुखमा विभिन्न घटनाबाट बच्न सरोकारवाला निकायलाई सजग गराउँदै सबैलाई सर्तकता अपनाउन आग्रह गरेको छ । सीमा अपराध नियन्त्रणका लागि भारतीय ‘काउण्टर पार्ट्स’सँगको समन्वय र सहकार्यलाई पनि प्रहरीले प्राथमिकतामा राखेको छ । सीसी क्यामेरामार्फत निगरानी बढाउँदै अपराध नियन्त्रणमा प्राविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखिएको जानकारी एसपी पोखरेलले दिए । उनका अनुसार सीमा नाकाबाट हुने अवैध ओसारपसारलगायतका सबै खालका अपराध नियन्त्रणका लागि प्रहरी सक्रियता बढाइएको छ । चाडपर्वलाई लक्षित गरेर भारतसँग सीमा जोडिएका स्थानमा तालिमप्राप्त कुकुरसहितको चेकजाँच सुरु गरिएको छ । सीमा क्षेत्रमा कुकुरसहितको चेकजाँच गर्न कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाको निर्देशन दिएका हुन् । अहिले मोरङ, सुनसरी र झापाका सिमावर्ती क्षेत्रमा कुकुरको प्रयोग गरेर चेकजाँच बढाउँदै सुरक्षा व्यवस्था मजवुत बनाइएको छ । डीआईजी बास्तोलाले सीमा क्षेत्रबाट हुनसक्ने लागूऔषध र विष्फोटक पदार्थको ओसारपसार तथा अन्य अपराधिक गतिविधि नियन्त्रणका लागि तालिमप्राप्त कुकुरको प्रयोग गर्न थालिएको बताए । ‘सीमा नाकाबाट आवतजावत गर्नेहरु तथा सवारीसाधनमाथि कडाइसाथ चेकजाँच सुरु गरिएको,’ उनले भने, ‘चाडपर्वका बेला हुनसक्ने अपराध, अवैध ओसारपसार रोक्न सीमा क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार