इलाममा महिलामाथि जबरजस्ती करणीको प्रयास, प्रहरीद्वारा नै पीडित भएको महिलाको गुनासो

मंगलबार, ३० असोज २०८०
इलाम, असोज । जबरजस्ती करणीको प्रयास गर्ने इलामका एक व्यक्तिलाई प्रहरीले आश्रय दिन लागेको एक महिलाले बताएकी छन् । देउमाई नगरपालिका ३ की एक महिलाले आफूलाई जबरजस्ती गर्न आएका व्यक्ति विरुद्ध जिल्ला प्रहरी कार्यालय पुगे पनि प्रहरीले सुरुमा जाहेरी लिन नै नमानेको बताएकी हुन् । गएको भदौ २४ गते राती महिला एक्लै भएको समयमा इलाम नगरपालिका १ का शङघेष राईले आफूमाथि जबरजस्ती करणीको प्रयास गरेको ती महिलाले बताएकी छन् । रातको करिब एक बजे ती पुरुष आफ्नो घरमा आएर करणीको प्रयास गरेको र आफूले प्रतिकार गरेको उनले बताइन् । प्रहरी समक्ष पुगेर उजुरी दिएको र पिडक पक्राउ भइसकेपछि पनि उनलाई प्रहरीले उन्मुक्ति दिएको उनको भनाई छ । सुरुमा प्रहरीले जाहेरी नै लिन नमानेको र पछि जाहेरी लिए पनि आफूले दिएको फरक ढङ्गले टिपोट गरेर जाहेरी तयार पारेको उनको आरोप छ । हाल समेत पीडित महिलालाई धम्क्याउने गरेको उनले सुनाइन् । प्रहरीबाट गएको जाहेरी नै उल्टो भएका कारण अदालतबाट समेत म्याद थप नभएको उनको दुखेसो छ । पहिला आफूले लेखेको उजुरी निवेदन पुनः माग्दा समेत जिल्ला प्रहरी कार्यालय इलामले नदिएको उनको भनाई छ । सो घटना बाहिर ल्याए उल्टै मार्ने धम्की आउने गरेको पीडित महिलाको भनाई छ । उनले भनिन्, ‘तैँले नै बोलाएको भन्छु, नत्र तँलाई नै मार्छु भनेर भन्छ ।’ उनले भनिन् । जाहेरी लेख्दा समेत प्रहरीबाट न्यायका निम्ति सहयोग भन्दा पनि उल्टै धम्क्याउने गरेको उनले बताइन् । आफू पीडित भएको भन्दै महिला हाल अधिकारवादी र सञ्चारकर्मी समक्ष पुग्ने गरेकी छन् । उनले नेपाल पत्रकार महासङ्घ इलाममा नै पुगेर न्याय पाउने ठाउँबाट नै आफू पीडित भएको बताइन् । ४५ वर्षीय महिला पीडित भएर उजुरी गर्न जाँदा प्रहरीबाट दमन भोग्नु परेको देउमाई नगरपालिका ३ का वडा सदस्य चन्द्र राईले बताए । यता जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख वासुदेव खतिवडाले प्रहरीबाट यस घटनामा अनुसन्धान भइरहेको बताएका छन् । उनले अदालतबाट नै घटनालाई अगाडी बढाउन र म्याद थप गर्न नमिल्ने भन्दै म्याद थप नभएको बताए । म्याद थप नभएका कारण पक्राउ परिसकेका पुरुष छुटेको उनको भनाई छ । यो केस नरोकिएको भन्दै घटनाका विषयमा अनुसन्धान जारी रहेको उनको भनाई छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार