नयाँ रूप धारण गरेको प्रदेश प्रहरी कार्यालयको अत्याधुनिक एवं सुविधा सम्पन्न भवन कोसी प्रदेश सरकारको १९ करोड १४ लाख रूपैयाँभन्दा बढीको लागतमा निर्माण गरिएको हो । भवनको शिलान्यास २०७५ फागुन २९ गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले गरेका थिए । साना र ठूला गरेर ७५ कोठे भवनको उद्घाटन २०७९ फागुन ११ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका हुन् ।
प्रदेश सरकारले बनाइदिएको त्यही कार्यालय अहिले आकर्षणको केन्द्र बनेको छ । हेर्दा संग्रहालयजस्तै देखिन्छ । प्रहरी बस्ने भौतिक संरचना अति नै जीर्ण र सुविधाविहीन रहेको तथा नागरिकको सुरक्षामा अहोरात्र खट्नुपर्ने प्रहरी आफैं असुरक्षित बनिरहेको चर्चा चलिरहँदा प्रदेश प्रहरी कार्यालय भने सबैको मन लोभ्याउने थलो बनेको छ । बगैंचा निर्माण, पर्खालको रंगरोगन, आकर्षक पानीको फोहोरा निर्माणदेखि लिएर विभिन्न वस्तुको प्रयोगमार्फत सजाएर पर्यटकीयस्थलको जस्तै झल्को दिने गरी हेर्नलायक बनाइएको छ । यसले प्रहरी कार्यालयप्रतिको आमधारणामा परिवर्तन ल्याएको अधिकारीहरुको बुझाइ छ ।
प्रदेश प्रहरी कार्यालय पुग्ने जोकोही त्यहाँको मन लोभ्याउने सुन्दरताले प्रभावित हुन्छन् । सुन्दरताको प्रतीकजस्तो कार्यालयमा मुख्य गेट र ‘कम्पाउण्ड वाल’ निर्माण गरिएको छ । रातभर प्रकाश छर्ने गरी विभिन्न रंगका बत्ती जडान गरिएको छ । कोसी प्रदेशअन्तर्गतका पर्यटकीय तथा धार्मिक क्षेत्रहरुको तस्बिर राखेर ‘कम्पाउण्ड वाल’लाई आकर्षक बनाइएको छ । जसले पैदलयात्रीमा समेत आकर्षण बढाएको छ ।
कार्यालयको बाटो हुँदै हिँड्नेहरुले प्रदेशका पर्यटकीयस्थलका फोटाहरु अवलोकन गर्न पाउने स्थानीय रोहन कामत बताउँछन् । उनका अनुसार प्रदेश प्रहरी कार्यालयले प्रदेशको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु¥याएको देखिन्छ । ‘प्रहरी कार्यालयमा प्रवेश गर्दा आनन्द महसुस हुन्छ,’ कामतले भने, ‘पछिल्लो समय निक्कै व्यवस्थित र आकर्षक बनाइएको छ ।’
अहिले ‘वाटर फाउण्डेशन’, कार्यालय परिसर कालोपत्रे र ‘गार्डेनिङ’को काम अन्तिम चरणमा पुगेको छ । वरपर निर्माण भएका बगैंचाले कार्यालय परिसरलाई सुन्दर र मनमोहक बनाएको कामतको भनाइ छ । कार्यालयमा सवारी पार्किङस्थल, ग्यारेज, सवारी मर्मतशाला निर्माण गरिएको छ । ‘टु पोस्ट लिफ्ट’ जडान, प्रहरीको इतिहास झल्किने ‘प्रोटे«ट’ फोटा एवं प्रदेशका धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्वका विभिन्न सामग्रीसहित कार्यालयको प्रयोजनार्थ ‘स्मार्ट टिभी’ र ‘स्मार्ट बोर्ड’हरु राखिएको छ ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी ऋषिराम कँडेलले प्रहरीका हरेक गतिविधिको जानकारी दिने र कामकारबाहीलाई पारदर्शी बनाउन सबैले देख्ने गरी ‘डिजिटल सूचना पार्टी’ राखिएको जानकारी दिए । कार्यालयको भवनमा ‘एलईडी स्क्रिन’ तथा प्रत्येक तलामा खानेपानीका ‘वाटर डिस्पेन्सर’ जडान र विद्युतको समस्या समाधान गर्न १६० वाटको जेनेरेटरसहित ‘पावर हाउस’को निर्माण गरिएको छ । अत्याधुनिक ‘रेकर्डिङ स्टुडियो’सहित कम्प्युटर र विभिन्न उपकरण तथा फर्निचर राखेर कार्यालयलाई स्रोतसाधन सम्पन्न बनाइएको कँडेल बताउँछन् । उनका अनुसार प्रहरी कर्मचारीको कपडा धुन ‘वासिङ मेसिन’सहितको अत्याधुनिक धोवीघर निर्माण, टेबल टेनिस कोर्ट निर्माण र भान्सा घर सुधारका लागि अत्याधुनिक ‘राइस स्ट्रिमर’ तथा विद्युतीय चुल्होको व्यवस्था गरिएको छ । सिनियर तथा जुनियर अधिकृतसमेतका प्रहरी कर्मचारीका लागि अलगअलग कोठासहितको भौतिक संरचना, शिशु स्याहार कक्ष र विभिन्न हलहरु निर्माण गरिएको उनले बताए ।
प्रदेश प्रहरी प्रमुखदेखि प्रदेशका ‘क’ श्रेणीका इलाका प्रहरी कार्यालय प्रमुखको कार्यकक्षमा एउटै ‘डिजाईन’का ‘बोर्ड’ राखिएको जानकारी कँडेलले दिए । उनका अनुसार प्रहरी कर्मचारीलाई पढ्ने बानीको विकास गराउन पुस्तकालयको व्यवस्था, ‘स्पिकर’सहितको ‘साउण्ड सिस्टम’ जडान र सांस्कृतिक कार्यक्रम गर्ने प्रयोजनार्थ ‘स्लाइडिङ’ पर्दाको व्यवस्था गरिएको छ । नेपाल प्रहरीका विविध सेवा क्षेत्रहरु दर्शाउने ‘वाल पेन्टिङ’, ऐतिहासिक फोटा र फूलका गमलाले कार्यालयलाई थप आकर्षक बनाएको छ ।
सीसी क्यामेरा जडान गरेर भारतसँग सीमा जोडिएका प्रदेशका झापा, मोरङ र सुनसरीका सीमानाकाको निगरानी प्रदेश प्रहरी कार्यालयबाटै गर्न थालिएको छ । प्रदेशका सबै जिल्लाको मुख्य स्थानको निगरानीका लागि सीसी क्यामेरा जडानको काम भइरहेको छ । त्यसका लागि प्रादेशिक ‘कमाण्ड सेन्टर’ स्थापना गरेर सञ्चालनमा ल्याइएको छ ।
डीआईजी बास्तोलाले मातहतका प्रहरी कार्यालयलाई आकर्षक बनाउनलाई सौन्दर्यकरणको काम सुरु गर्नसमेत निर्देशन दिएका छन् । नियमित सरसफाइ, फोहोरमैलाको व्यवस्थापन, ‘ब्युटीफिकेसन’, ‘गार्डेनिङ’, करेसाबारी निर्माणलगायतमा ध्यान दिन उनको निर्देशन छ । साथै, कार्यालयमा आफ्नो क्षेत्रभित्र पर्ने पर्यटकीय, धार्मिक र विभिन्न जातजातिको ‘प्रोट्रेट’ फोटा राख्न, कार्यालय प्रमुखको टेबलपछाडि कार्यालयको नामसहितको एउटै प्रकृतिको ‘ब्याक ग्राउण्ड’ राख्न र सबै नागरिकले देख्ने गरी जनचेतनामूलक गतिविधिसँग सम्बन्धित ‘डिस्प्ले’को व्यवस्था गर्न बास्तोलाले निर्देशन दिएका छन् ।
प्रदेश प्रहरी कार्यालय विराटनगरले नेपाल प्रहरी वार्षिक कार्यायोजना २०८० अनुरूपका २० वटा कार्यायोजना निर्धारित समयभन्दा अघि नै कार्यान्वयनमा ल्याएको छ । प्रहरी कर्मचारीको गुनासो सम्बोधन गर्न ‘प्रदेश प्रहरीसँग प्रमुख’ कार्यक्रम, पीडित पुनः भेटघाट कार्यक्रम, गुनासो व्यवस्थापनका लागि ‘क्यूआर कोड’को व्यवस्थापन, आत्महत्या न्यूनीकरण कार्ययोजना र लागूऔषधविरुद्ध ‘म सक्छु’ (आई क्यान), फरार प्रतिवादी पक्राउ, सचेतनामूलक अभियान सञ्चालन गरिएको छ ।
भन्सार चोरी–निकासी नियन्त्रण गर्न शून्य सहनशीलताको नीति कडाइका साथ लागू गर्दै खराब आचरण भएका तथा एकै ठाउँमा लामो समयसम्म बस्ने प्रहरीलाई लक्षित गरेर आचरण, व्यवहार एवं नैतिक शिक्षा पुनर्ताजगी तालिमसँग सम्बन्धित पाठ्क्रम निर्माण गरी ७ दिनको तालिम दिइएको छ । विभिन्न समूहका १० वटा तालिम र १४ वटा अनलाइन तालिम गराइएको एसपी कँडेलले बताए ।
पुरानो भवनमा रहेको प्रदेश अनुसन्धान समूहलाई स्थानान्तरण गरेर उक्त भवन मर्मत सम्भारपछि नेपाल प्रहरी श्रीमती संघलाई हस्तान्तरण गरिएको छ । सिलाइकटाईलगायतका संघका नियमित कार्यक्रमहरु अहिले उक्त भवनबाट सञ्चालन भइरहेको छ ।
डीआईजी बास्तोलाले अहिलेको प्राविधिमैत्री समयमा प्रहरीको कार्यालय नै व्यवस्थित र आधुनिक भएन भने सेवा प्रवाहमा समस्या हुने बताए । ‘सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउँदै प्रविधिको प्रयोगबाट शान्ति सुरक्षाको अवस्थालाई मजवुत राख्न प्रहरी कर्मचारीलाई अभ्यस्त बनाउने काम भइरहेको छ,’ उनले भने, ‘अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको निकास भौतिक संरचनाका हिसाबले सुविधा सम्पन्न हुनुपर्छ ।’
कार्यालयलाई सुरक्षित, भरपर्दो, व्यवस्थित र आकर्षक बनाउँदा आमनागरिकको सेवामा अहोरात्र खटिने प्रहरीको मनोबलसमेत उच्च हुने उनी बताउँछन् । ‘कार्यालय नागरिक र प्रविधिमैत्री भएन भने प्रहरी संगठनको उदेश्य पूरा हुन सक्दैन । नागरिकलाई प्रदान गरिने सेवा प्रभावकारी हुँदैन,’ बास्तोलाले भने, ‘सबै कुरालाई व्यवस्थित बनाएर कार्यालयको सौन्दर्यकरण गर्दै प्रभावकारी, विशिष्टिकृत र छिटोछरितो सेवा प्रदान गर्न प्रदेशमा विशेष अभियान नै चलाइएको छ । प्रहरी कार्यालयमा आउँदा देखिने पहिलो दृष्यले नै नागरिक प्रहरीको कामकारबाहीप्रति सन्तुष्ट हुन्छन् ।’
सर्वसाधारणले प्रहरी नागरिकमैत्री हुनुपर्ने चाहना राख्ने हुँदा प्रहरी कार्यालयलाई समयानुकूल ‘अपग्रेड’ गर्दै लगिएको उनी बताउँछन् । व्यवस्थित र भौतिक हिसाबले सुविधा सम्पन्न कार्यालयमा काम गर्दा प्रहरी कर्मचारीलाई समेत विशेष उर्जा एवं हौसला प्राप्त हुने तथा कार्यसम्पादन प्रभावकारी बन्ने उनको बुझाइ छ । ‘कार्यसम्पादनलाई प्रभावकारी बनाउन कार्यालयको व्यवस्थितिकरणमा ध्यान दिनुपर्छ । प्रहरी कर्मचारीको आचार र व्यवहार तथा नैतिकतामा पर्याप्त सुधार ल्याएर आन्तरिक शुद्धीकरण गर्नुपर्ने हुन्छ,’ डीआईजी बास्तोलाले भने, ‘कार्यालयलाई प्रविधिमैत्री, नागरिक र अपांगतामैत्री तथा व्यवस्थित बनाइएपछि प्रहरीलाई सहज हुँदै गएको छ । प्रहरीको काम थप प्रभावकारी बनेको छ ।’
उनले प्रहरी संगठनको इतिहास झल्काउने ‘वाल पेन्टिङ’ र फोटाहरुले कामकारबाहीमा प्रहरी कर्मचारीलाई विशेष उर्जा प्रदान गरेको पनि बताए । व्यवस्थित अभिलेखीकरणले प्रहरी तथा सेवाग्राहीलाई प्रहरीको इतिहासका बारेमा जानकारी हासिल गर्न मद्धत पुगेको बास्तोला बताउँछन् । ‘नागरिकको सेवामा २४ घण्टा नै खट्ने प्रहरी संगठन हरेक कोणबाट अब्बल हुनुपर्छ भन्ने उदेश्य हो,’ बास्तोला भन्छन्, ‘अभिलेखीकरणलाई व्यवस्थित गर्दै कामकारबाहीमा प्रविधिको उच्चतम प्रयोग गर्न थालिएको ।’ कार्यालयमा राखिएका फोटालगायतकाले कोसी प्रदेशको वास्तविक वस्तुस्थितिलाई समेटेको उनको भनाइ छ ।
डीआईजी बास्तोलाले प्रहरी कर्मचारीलाई सुविधा प्रदान गर्दा काममा उत्प्रेरित गराउन सकिनेसमेत बताए । अर्कोतर्फ प्रहरीको कामको मूल्यांकनका लागि अनुगमनको पाटोलाई प्रभावकारी बनाइएको जानकारी उनले दिए । ‘हामी (प्रहरी)सँग दुईवटा घर छन् । एउटा जन्मघर र अर्को कर्मघर,’ बास्तोला भन्छन्, ‘कर्मघरमा लामो समयसम्म बसेर सेवा प्रदान गर्नुपर्ने हुन्छ । त्यसलाई आफैंले व्यवस्थित गर्न सकिएन भने प्रहरी हुनुको अर्थ रहँदैन ।’ सबै नागरिकलाई समान ढंगले सेवा प्रदान गर्ने र शान्ति सुरक्षाको अवस्था मजवुत बनाउनेतर्फ प्रहरी केन्द्रित भएको जानकारी उनले दिए ।
(फोटो क्याप्सन ः कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर र कार्यालयभित्र तथा परिसरका विभिन्न फोटाहरु ।)
प्रतिक्रिया