छात्रामाथि सामूहिक बलात्कार : कराँतेका दुई प्रशिक्षक कसुरदार

विहीबार, १६ कार्तिक २०८०
विराटनगर छात्रालाई सामूहिक बलात्कार गरेको घटनामा संलग्न कराँतेका दुई जना प्रशिक्षकलाई जिल्ला अदालत मोरङको कसुरदार ठहर गरेको छ । कराँतेका प्रशिक्षकहरु विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउत जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका हुन् । न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले उनीहरुलाई बुधबार कसुरदार ठहर गरेको अदालतका सूचना अधिकारी ओमराज सुवेदीले बताए । अदालतले दोषी ठहर गरेसँगै सुवेदी र राउतले छात्रामाथि सामूहिक बलात्कार गरेको पुष्टि भएको छ । अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि दुवै जना २०७९ भदौमा करागार चलान भएका थिए । करणी मुद्दामा सुवेदी र राउत दोषी ठहर भएपनि उनीहरुलाई हुने कैद सजाय निर्धारण गर्न बाँकी रहेको अदालतका सूचना अधिकारी सुवेदीले बताए । उनका अनुसार दुवै जनाले कति वर्ष कैद बस्नुपर्छ भनेर सजाय निर्धारण गर्नलाई आगामी कात्तिक २२ गतेको समय तोकिएको छ । अहिले सुवेदी र राउत दोषी ठहर मात्रै भएका हुन् । फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम ३ वर्ष भन्दामाथि कैद सजाय हुने मुद्दामा कसूर कायम र सजाय निर्धारण छुट्टाछुट्टै गर्नुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का स्थायी प्रशिक्षक उनीहरुले विराटनगरस्थित एउटा होटलमा लगेर २०७९ जेठ अन्तिम साता आफूलाई बलात्कार गरेको भनेर विराटनगरकै विराट हेल्थ कलेजमा अध्ययनरत छात्राले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । सुनसरीको इटहरी घर भएकी छात्राले किटानी जाहेरी दिएपछि सुवेदी र राउतलाई प्रहरीले २०७९ साउन ८ गते पक्राउ गरेर घटनाको अनुसन्धान गरेको थियो । छात्रालाई नसालु पदार्थ सेवन गराएर दुवै जनाले समूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको थियो । बलात्कारमा दोषी ठहर भएका सुवेदी छात्रा अध्ययनरत कलेजका अनुशासन इन्चार्ज थिए । परीक्षामा सहयोग गर्ने बहानामा नजिकिएका उनले बारम्बार बलात्कार गरेको अनुसन्धानबाट थाहा भएको हो । सुवेदीले २०७९ जेठ अन्तिम साता भने छात्रालाई होटलमा लगेको र आफ्ना नजिकका साथी राउतलाई समेत बोलाएपछि दुवै जनाले सामूहिक बलात्कार गरेको अनुसन्धानबाट यकिन भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार