विराटनगरबाट राजस्व छलीको आशंकामा ट्याक्टर नियन्त्रण

शुक्रबार, १७ कार्तिक २०८०
विराटनगर विराटनगर भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको एउटा ट्याक्टरलाई सशस्त्र प्रहरीले बिहीबार साँझ नियन्त्रणमा लिएको छ । मिलका सामग्री, साना पत्थर, रबर रोल र भीबेल्टलगायतका सामान लोड गरिएको बीआर ३८ जीए ६८४४ नम्बरको ट्याक्टरलाई राजस्व छलीको आशंकामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ थापाले जानकारी दिए । उनका अनुसार विराटनगर महानगरपालिका–१५ हनुमान मन्दिरनजिकबाट ट्याक्टर नियन्त्रणमा लिइएको हो । ट्याक्टर चालक भारतको जोगवनीका ३९ वर्षीय मोहमद अजमत पनि पक्राउ परेका छन् । नियन्त्रणमा लिइएको सामानसहितको ट्याक्टर र चालकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको थापाले बताए । उनका अनुसार लोड भएको सामानसहित ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको हो । सामानको भन्सार मूल्यांकन ९ लाख ९९ हजार ३ सय १० रूपैयाँ कायम गरेर प्रज्ञापनपत्र तयार पारिएको फेला परेको छ । तर, ट्याक्टरमा उक्त मूल्यभन्दा बढीको सामान रहेको सूचना सशस्त्र प्रहरीलाई आएको थियो । सामानको जाँचपासमा भन्सार एजेन्ट किशोर शाहीले सहजीकरण गरेको खुलेको छ । भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा सामानको भन्सार मूल्यांकन कम गरेर ट्याक्टर छाडिएको हुनसक्ने आशंका छ । विगतमा पनि भन्सारका कर्मचारी र एजेन्ट तथा ढुवानीकर्ताको मिलेमतोमा भन्सार मूल्यांकन कम गरेर सामानको जाँचपास गर्दै राजस्व छली गर्ने गरिएको घटना सार्वजनिक भएको थियो । सशस्त्रले नियन्त्रणमा लिएको ट्याक्टर कसको हो भन्ने खुलेको छैन । सामान ढुवानीकर्ताका बारेमा पनि यकिन हुन बाँकी छ । यस विषयमा अनुसन्धान सुरु गरिएको राजस्व अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार