काठमाडौं । जाजरकोट रामीडाँडा केन्द्रविन्दू भई गएको भूकम्पबाट भएको मानविय र भौतिक क्षतिप्रति कांग्रेस, एमाले र नेकपा एसले दुःख व्यक्त गर्दै पार्टी पंतिलाई तत्काल राहत र उद्दार कार्यमा जुट्न निर्देशन दिएका छन् ।
शनिबार विज्ञप्ती जारी गर्दै सरकारमा आवद्ध दल नेपाली कांग्रेसले युद्धस्तरमा घाईतेको उद्दार तथा उपचारको व्यवस्था गर्न ध्यानाकर्षण गराएको छ ।
नेपाली कांग्रेसले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘भूकम्पबाट प्रभावितहरुलाई सुरक्षित स्थल तर्फ तत्काल स्थानान्तरण गर्न, युद्धस्तरमा उद्धारको कार्य गर्न, घाइतेहरुको उपचार र राहतको कार्यमा सक्रियता साथ परिचालन गर्न प्रधानमन्त्री लगायत नेपाल सरकारसँग जोडदार माग गर्दछु ।’
कांग्रेसले उपसभापति देउवा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का भूकम्प प्रभावित क्षेत्रमा जान लागेको समेत उल्लेख गरेको छ ।
यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जाजरकोट भूकम्पबाट भएको मानविय क्षतिप्रति दुःख व्यक्त गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली दिदै घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत विपदको समयमा सामाजिक सञ्जालको सदुपयोग गर्दै घाइतेहरुको उद्धार र उपचारमा परिचालित हुन पार्टीका सम्पूर्ण कार्यकर्तालाई आग्रह गरेका छन् ।
उद्दार राहतमा आवश्यक सामग्रीको व्यवस्थाका लागि सामाजिक सञ्जाललाई सदुपयोग गर्न आग्रह गर्दै उनले लेखेका छन्,‘ देशभरिका साथीहरुले राहत र घाइतेको उपचारमा कसरी सहयोग गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुहोला। विशेषगरी सुर्खेत, नेपालगञ्ज, काठमाडौंका पार्टीका कमिटीहरुले उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक ब्लड संकलनमा सहयोग गर्नुहोला। उद्दारमा भिडभाड भन्दा छरितो व्यवस्थापन गर्नु पर्छ ।’
उनले विपत् र शोकको घडिमा पार्टीको पूर्वनिर्धारीत सबै कार्यक्रम रद्द गर्न आग्रह समेत गरेका छन् ।
नेकपा एसका अध्यक्ष माधव नेपालले पनि विज्ञप्तिमार्फत मानविय क्षति व्यहोरेका सम्बद्ध परिवार र आफन्तजनमा गरिहो समवेदना प्रकट गर्दै घाइतेको उद्धार तथा उपचारको व्यवस्था मिलाउन जोड दिएका छन् ।
त्यस्तै नेकपा एस निकट युवा संघले पनि आवश्यक उद्दारका लागि सरकारको ध्यानाकर्षण गराएको छ । संघले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘‘सरकारलाई आफ्नो सम्पूर्ण प्रशासनिक निकायहरु तुरुन्त परिचालन गर्न, साधन स्रोतहरु जुटाउन, उद्धार सामग्रीहरूको बन्दोबस्त गर्न र मृत्यु भएका र आपतमा परेका जनतालाई तत्काल राहत र उद्धार उपलब्ध गराउन तथा सबै तहका विपद व्यवस्थापन निकायहरुलाई सक्रिय बनाउन, मृतकहरुको दाहसंस्कार गराउन, उनीहरुका परिवारलाई आवश्यक राहत र सहयोग उपलब्ध गराउन स्वास्थ्यकर्मीहरुको प्रभावकारी परिचालन गर्न, घाइतेहरूको तत्काल उपचार गराउन, घरबार विहिनहरुलाई गास बासको व्यवस्था गर्न र यस विपदबाट जनतालाई सामाजिक–आर्थिक रुपले पनि मुक्त पार्न आवश्यक भौतिक सहयोग समेत उपलब्ध गराउन नेपाल सरकारसँग जोडदार माग गर्न चाहन्छ ।’’
प्रतिक्रिया