कोशी प्रदेश लामो समयदेखि सभामुखविहीन, सांसदले उठाए आवाज

सोमबार, २० कार्तिक २०८०
विराटनगर /कोशी प्रदेश सभा लामो समयदेखि सभामुखविहीन बनेको छ । तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएसँगै प्रदेशसभाले अर्को सभामुख पाउन नसकेको हो । नेकपा (माओवादी केन्द्र)बाट प्रदेशसभा सदस्य निर्वाचित भएका गौतमले साउन १६ गते सभामुख पदबाट राजीनामा दिँदै नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई दोस्रोपटक मुख्यमन्त्री बनाउन सहयोग गरेका थिए । राजीनामालगत्तै उनी मन्त्री नियुक्त भए । तर, प्रदेशसभाबाट विश्वासको मत लिने क्रममा भदौ ४ गते सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले पनि मुख्यमन्त्री थापालाई मत दिएका थिए । सभाको अध्यक्षले मत दिनु संविधानसम्मत नभएको फैसला सर्वोच्च अदालतले गरेपछि थापा पदमुक्त बने । साउन १६ यता प्रदेशसभा सभामुखविहीन छ । सभामुख नहुँदा उपसभामुख सिर्जना दनुवारले प्रदेशसभा सञ्चालन गर्दै आएकी छिन् । प्रदेशसभाको सोमबार आह्वान गरिएको चौथो अधिवेशनको चौथो बैठकमा प्रदेशसभा सदस्य (सांसद)हरुले प्रदेश सभामुखविहीन बनेको भनेर आवाज उठाएका छन् । उनीहरुले सभामुखको खोजी गरेका छन् । प्रदेशसभाको शून्य समयमा बोल्ने सांसदहरुले सभामुखका विषमया आवाज उठाएका हुन् । उनीहरुले तत्काल सभामुख चयनको प्रक्रिया अघि बढाउनुपर्ने माग पनि राखेका छन् । सभामुख नहुँदा सभा सञ्चालन गर्नेलगायतका विषयमा समस्या भइरहेको बताए । शून्य समयमा बोल्ने सांसदह मैया श्रेष्ठ, गोपाल तामाङ, इन्दिरा थापा, शोभा चेम्जोङ, गोपाल विश्वकर्मासमेत प्रदेशसभामा सभामुखको खोजी गरेका हुन् । उनीहरुले तत्काल प्रक्रिया अघि बढाएर सभामुख चयन गर्नुपर्ने माग राखे । थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद हुन् । सभामुखका बारेमा सदनमा आवाज उठाउने अरु कांग्रेसका हुन् । सभामुखको विषयमा नेकपा (एमाले)का सांसदहरु मौन रहे । सभामुख नहुँदा प्रदेशसभाको गरिमा घट्दै गएको गुनासो सांसदहरुको छ । सदनको गरिमा बढाउनका लागि सभामुखको चयन प्रक्रिया तत्काल सुरु गर्नुपर्ने माग उनीहरुले गरेका छन् । कोशी प्रदेशको संसदीय अंकगणीतमा अप्ठेरो पर्ने भएकाले सत्ता गठबन्धनले सभामुख लिन चाहेको छैन । गठबन्धनले राप्रपालाई सभामुखको जिम्मेवारी दिन खोजेको छ । राप्रपाले सभामुखको जिम्मेवारी लिए सत्तापक्षसँग बहुमत पुग्छ । कोशी ९३ सदस्यीय प्रदेशसभामा बहुमत पु¥याउन ४७ सांसद आवश्यक पर्छ । प्रदेशसभामा एमालेसँग उपसभामुखसहित ४०, कांग्रेससँग २९, माओवादीसँग १३, राप्रपासँग ६, नेकपा (एकीकृत समाजवादी)सँग ४ र जनता समाजवादी पार्टी (जसपा)सँग १ जना सांसद छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार