कर्णाली सरकारद्वारा भूकम्प प्रभावितलाई २ करोड हस्तान्तरण

बुधबार, २२ कार्तिक २०८०
कर्णाली  : कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई दुई करोड ४५ लाख हस्तान्तरण गरेको छ।प्रदेश सरकारले जाजरकोटका भेरी र नलगाड नगरपालिका तथा बारेकोट गाउँपालिकालाई २५/२५ लाख, कुशेमा गाउँपालिकालाई २० लाख, छेडागाड नगरपालिकालाई १० लाख, जुनीचाँदे गाउँपालिकालाई १० लाख र शिवालय गाउँपालिकालाई रु पाँच लाख हस्तान्तरण गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए। त्यसैगरी रुकुम पश्चिमको आठबीसकोट र सानीभेरी नगरपालिकालाई रु २५/२५ लाख, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकालाई रु २०/२० लाख, मुसिकोट नगरपालिकालाई १० लाख र बाँफीकोट गाउँपालिकालाई पाँच लाख रकम हस्तान्तरण गरिएको प्रवक्ता जिसीले बताए। उनका अनुसार सल्यानको दार्मा गाउँपालिकालाई १५ लाख तथा बागचौर र बनगाड कुपिण्डे नगरपालिकालाई रु पाँच–पाँच लाख हस्तान्तरण गरिएको छ। भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानमा राहत सामग्री खरिद, वितरण र उद्धार प्रयोजनका लागि स्थानीय तहलाई रकम उपलब्ध गराइएको मन्त्री जिसीले बताए। यही कात्तिक १७ गते राति ११:४७ बजे जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडामा केन्द्रबिन्दु बनाएर ६ दशलमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो धनजनको क्षति भएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार