विराटनगर/नकिजिँदो चिसो मौसमलाई लक्षित गरेर विराटनगरस्थित मानवसेवा आश्रममा रहेका वृद्धवृद्धा र बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।
विराटनगर महानगरपालिका–१० मा रहेको आश्रममा आश्रित ७० जना वृद्धवृद्धा र बालबालिकालाई बुधबार कपडा वितरण गरिएको हो ।
आश्रममा नेपाल प्रहरी श्रीमती संघ कोेशी प्रदेशले न्यानो कपडा वितरण गरेको छ । संघकी अध्यक्ष अजिता देवकोटा बास्तोलाले नजिकिँदै गरेको जाडोलाई मध्यनजर गरेर कपडा वितरण गरिएको बताइन् ।
कपडा वितरण कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी उनले आश्रममा आश्रित ६० जना वृद्धवृद्धा र १० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको जानकारी दिइन् । ‘ओढ्ने र ओछ्याउने तथा लगाउने कपडा नभएर जाडो मौसममा कठ्यांग्रिन नपरोस् भनेर न्यानो कपडा वितरण गरिएको हो,’ उनले भनिन्, ‘त्यसक्रममा वृद्धवृद्धासँग मनोभावनासमेत साटासाट गरिएको छ ।’
‘सेवा नै धर्म हो’ भन्ने भावनाका साथ नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले मानवसेवा सम्बन्धी विभिन्न परोपकारी कामहरु गरिरहेको र त्यसलाई निरन्तरता दिइने बास्तोलाले बताइन् । चिसोमा हुने मानवीय क्षति रोक्न सबैले आआफ्नो ठाउँबाट पहल गर्नुपर्ने उनको भनाइ छ । कार्यक्रममा प्रहरी अधिकारी र श्रीमती संघका पदाधिकारीहरु उपस्थित थिए ।
प्रतिक्रिया