दुर्घटनामा परेका सवारीसाधन नियन्त्रणमा लिने क्रममा ३१ किलो गाँजा बरामद

बुधबार, २२ कार्तिक २०८०
इटहरी/ सुनसरीको दुहवीमा दुर्घटनामा परेका सवारीसाधनलाई नियन्त्रणमा लिने क्रममा मंगलबार लागूऔषध गाँजा फेला परेको छ । कोशी लोकमार्गअन्तर्गत दुहवी नगरपालिका–८ मा को १ ह ८४७८ नम्बरको सीटी सफारी र प्रदेश १–०२–०४२ प ३७५४ नम्बरको मोटरसाइकल एकअपासमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक र सफारीमा सवार रहेका दुई जना घाइते भएका थिए । घाइतेलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो । दुर्घटनामा परेका सवारीसाधन नियन्त्रणमा लिने क्रममा भने ३१ किलो गाँजा फेला परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पछाडि भिर्ने झोला र जेब्रा झोलामा गाँजा फेला परेपछि मोटरसाइकल चालक धनकुटाको सहिदभूमि गाउँपालिका–७ का २१ वर्षीय अनिष तामाङ पक्राउ परेका छन् । तामाङ लामो समयदेखि गाँजा ओसारपसारमा संलग्न रहेको प्रहरीको भनाइ छ । घाइते अवस्थाका तामाङलाई उपचारपश्चात नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार उनीविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार