विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानले प्रदेशलाई दिएको एकल अधिकार सूचीका कामहरु हस्तान्तरण नगरे सिंहदरबारमा धर्ना दिने चेतावनी दिएका छन ।
विहिबार प्रदेश सभामा मुख्यमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नको जवाफका क्रममा मुख्यमन्त्री कार्कीले प्रदेशका अधिकारहरु संघीय सरकारले हडपेर राखिरहेको भन्दै तत्काल अधिकार हस्तान्तरण गर्न आग्रह गर्दै छिट्टै अधिकार हस्तान्तरण नभए आफू मुख्यमन्त्रीकै हैसियतमा धर्नामा जाने बताएका हुन ।
‘संविधानले दिएको प्रदेशको अधिकार प्रदेशमै ल्याउनका लागि सिंहदरबारमा गएर धर्ना दिन पनि सकिन्छ । र, म अधिकार छिट्टै आएन भने, उहाँहरुले तदारुकता दिनुभएन भने, सिंहदरबारमा म आफैं मुख्यमन्त्रीको हिसावले गएर धर्ना दिन्छु । प्रदेशको अधिकार छिटो ल्याउने अभियानमा लाग्छु । त्यसको लागि म सम्मानित प्रदेशसभासँग अनुमति पनि माग्दछु ।’ उनले भने ।
यस्तै मुख्यमन्त्री कार्कीले एमालेका सांसदहरुको पनि आफुलाइ समर्थन रहेको भन्दै सरकारमा आउन आग्रह गरेका छन । 'अहिले पनि त्यो भावना नराखी दलहरुको एकताले नै प्रदेशले समृद्धिको बाटो पहिल्याउँछ भन्ने लागेर मैले सहमतिको सरकार बनाउन प्रयास गरेको हुँ । उनले भने, म नेकपा एमालेलाई छोडेर, खोला तरेर लौरो बिर्सिएको होइन । मैले एमालेलाई छोडेकै छैन । स्वागत छ । सम्मान गर्न म जहिले पनि तयार छु । यसमा माननीयज्यूहरु कत्तिको तयार हुनुहुन्छ ।'
नामाकरणका विषयमा उठेका प्रश्नहरुमा मुख्यमन्त्री कार्कीले संवैधानिक प्रावधान अनुसार नै गर्नुपर्ने बताए । त्यसका लागि सरकार जिम्मेवार भएर वार्ता, सम्वाद र सहकार्यद्वारा समस्या समाधान गर्न प्रतिवद्ध रहेको मुख्यमन्त्री कार्कीले बताएका छन ।
कोशीको प्रदेशसभामा पहिलोपटक मुख्यमन्त्रीसंग प्रश्नोत्तर गरिएको हो । प्रश्नोत्तरमा सांसद गोम्बु शेर्पा, बुद्धिकुमार राजभण्डारी, राजन किराँती, सपना दर्जी, रमेशकुमार बस्नेत, छविलाल चुँडाल र रामदेव यादव सहभागी भएका थिए ।
प्रतिक्रिया