नेपाल प्रहरीका एसपीले चलाएकाे गाडीले ठक्कर दिँदा युवककाे मृत्यु

शनिबार, २५ कार्तिक २०८०
झापा । नेपाल प्रहरीका एसपी (प्रहरी उपरीक्षक) भीमबहादुर दाहालले चलाएकाे गाडीकाे ठक्करबाट झापामा एक युवककाे मृत्युु भएकाे छ । दाहाल सुनसरीकाे धरानस्थित संघीय प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् । उनले चलाएकाे मे १ च ७८३९ नम्बरको स्काेरपियो गाडीले मे १० प १६६९ नम्बरको माेटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएकाे झापा प्रहरीले जनाएको छ । दुर्घटनामा माेटरसाइकलमा सवार झापाकाे कमल गाउँपालिका-६ का १८ वर्षीय अनिल मर्डीकाे मृत्युु भएकाे हाे । पूर्व-पश्चिम राजमार्गअन्तरगत कनकाई नगरपालिका-८ बिरिङ पुलनजिकै शुक्रबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेकाे स्काेरपिओले विपरीत दिशातर्फ जाँदै गरेकाे मोटरसाइकललाई ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा घाइते भएका मर्डीलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घाेषित गरेका हुन् । दुर्घटनामा मोटरसाइकल चालक कमल गाउँपालिका- ६ मा १९ वर्षीय खगेन्द्र ताजपुरीया र १८ वर्षीय पुजन राजवंशी घाइते भएका छन् । दुर्घटनालगत्तै स्काेरपिओ चालक एसपी दाहाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएकाे झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार