लायन्स क्लब अफ विराटनगर सोसियलको शिविरमा एक हजार बढि लाभान्वित

शनिबार, १२ पुस २०८२

झापा । झापाको  बुद्धशान्ति गाउँपालिका–१ मा आयोजित वृहत् निःशुल्क स्वास्थ्य शिविरमा एकै दिन एक हजारभन्दा बढी स्थानीयले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। दुर्गम बस्तीका सर्वसाधारणलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमार्फत कुल १ हजार ९१ जनाको स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ।

लायन्स क्लब अफ विराटनगर सोसियलको आयोजनामा, नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोग तथा बुद्धशान्ति गाउँपालिका–१ को स्थानीय व्यवस्थापनमा बिहीबार नमुना आधारभूत विद्यालय परिसरमा शिविर सम्पन्न गरिएको हो। शिविरमा नोवेल मेडिकल कलेजका वरिष्ठ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो।

शिविरमार्फत सामान्य स्वास्थ्य परीक्षणसँगै भिडियो एक्स–रे, प्रयोगशाला परीक्षण तथा मुटु परीक्षण (ईसीजी) जस्ता सेवा उपलब्ध गराइएका थिए। उपचारसँगै करिब ५ लाख रुपैयाँ बराबरका औषधि निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ। आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपरेका स्थानीयका लागि यो शिविर ठूलो राहत बनेको स्थानीयको प्रतिक्रिया रहेको छ।

WhatsApp Image 2025-12-27 at 1.07.48 PM

स्थानीय व्यवस्थापन तथा समन्वय बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष अनिल वाग्लेको नेतृत्वमा गरिएको थियो। कार्यक्रमलाई गाउँपालिका अध्यक्ष मनोज प्रसाईं र उपाध्यक्ष भवानी खतिवडाको उपस्थितिले थप प्रभावकारी बनाएको जनाइएको छ, जसले स्थानीयस्तरमा स्वास्थ्य सेवा र सचेतनाप्रतिको प्रतिबद्धता प्रष्ट पारेको छ।

औषधि तथा सामग्री व्यवस्थापनमा क्युमेड फर्मुलेसन प्रालि विराटनगरका कुमार खतिवडा, धरानका जे.एन. गुप्ता, एशियन फर्मास्युटिकल प्रालि तथा डा. सी.पी. उपाध्यायले सहयोग प्रदान गरेका थिए।

लायन्स क्लब अफ विराटनगर सोसियलका अध्यक्ष लायन लिला ढुंगेलले ग्रामीण तथा पहुँच कमजोर समुदायलाई लक्षित यस्ता सेवामूलक कार्यक्रमलाई आगामी दिनमा अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। स्वास्थ्य सेवामा पहुँच कम हुने क्षेत्रका लागि गरिएको यो शिविरलाई स्थानीयले ‘जीवन्त राहत’का रूपमा लिएको बताइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार