इलाम, मंसिर : इलाम जिल्ला चिया र अलैँची उत्पादनका लागि अग्रणी मानिन्छ । तर किसानले सामान्य जानकारीकै भरमा यसको खेती गर्दै आएका थिए । अब भने इलाम नगरपालिका एक साँखेजुङमा चिया र अलैंचीको अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । चिया र अलैँची उत्पादनमा अगाडी रहेकै कारण यहाँ चिया तथा अलैंची अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको हो । राष्ट्रिय व्यवसायिक कृषि अनुसन्धान कार्यक्रम अन्तर्गत अनुसन्धान केन्द्रलाई चिया र अलैंची उत्पादन हुने स्थानमा स्थापना गर्न जग्गा प्राप्ति सँगै कार्यालय स्थापनाको काम शुरु गर्न लागिएको छ ।
अनुसन्धान केन्द्रका लागि इलाम नगरपालिका– १ स्थित साँखेजुङमा ४२ रोपनी जग्गा व्यवस्थापन गरि कार्यालय निर्माणका लागि जग्गा सम्याउने काम भइसकेको इलाम नगरपालिकाले जनाएको छ ।
कार्यालय भवन निर्माणका लागि यो वर्ष दुई करोड ३८ लाख रुपियाँ बजेट छुट्टिएको इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले जानकारी दिए । यो रकमले जग्गामा कम्पाउण्डका लागि तारबार र कार्यालय भवन निर्माण हुने जनाइएको छ । दुलालका अनुसार अब ५२ रोपनी जग्गा अनुसन्धान केन्द्रका लागि दाताहरुले उपलब्ध गराउने कार्य भइरहेको छ ।
इलाममा स्थापना गर्न लागिएको यो केन्द्रले चिया र अलैंचीको क्षेत्रमा अनुसन्धान गर्छ ।
सूर्योदय नगरपालिकास्थित पान्दाममा रहेको अलैंची विकास केन्द्रले अलैंची विस्तारको काम गर्छ, यो कार्यालयले चाँहि अनुसन्धानको काम गर्ने जनाइएको छ।
प्रतिक्रिया