विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या तिन पुगेको छ ।
उपचारका क्रममा बुधबार राति थप दुई जनाको ज्यान गएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार आगलागीमा परेर गम्भीर घाइते भएका उर्लाबारी–७ का ४९ वर्षीय हेमकुमार दाहालको मृत्यु भएको हो । अनुहार, घाँटी, छात्ती, दुवै हात र खुट्टा जलेर घाइते भएका उनको उपचारका क्रममा काठमाडौंस्थित कीर्तिपुर वर्न अस्पतालमा राति १०ः३५ बजेतिर मृत्यु भएको दाहालले बताए ।
घाइतेमध्ये उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको सोही अस्पतालमा गत मंगलबार बिहान मृत्यु भएको थियो । यस्तै जिल्ला मोरङ उर्लावारी नपा ७ बस्ने बर्ष ४२ को कुमार तामाङको उपचारको क्रममा सोहि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दीपक कार्कीले घरमै सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट कात्तिक २६ गते (लक्ष्मी पूजाको) राति १०ः३० बजेतिर अचानक आगलागी सुरु भएको प्रहरीको भनाइ छ ।
आगो नियन्त्रणमा लिने क्रममा ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए । घाइतेमध्ये तीन जनाको मृत्यु भइसकेको हो । हाल २६ जनाको उपचार भइरहेको छ । प्रहरीका अनुसार गम्भीर अवस्थाका ७ जना आईसीयूमा उपचाररत छन् ।
कार्कीको घरमा सुनचाँदी पसलसहित भायनेटको कार्यालय र नजिकै फर्निचर पसल पनि थियो । प्रहरीका अनुसार सुनचाँदी पसल तथा भायनेटको कार्यालयमा पूर्ण रूपमा र फर्निचरमा आंशिक क्षति भएको छ । आगलागीबाट ३ करोड ४१ लाखको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीपछि घरभित्र पार्किङ गरेर राखेको बा ०१–०२५ च ६८४६ नम्बरको कार विष्फोट भएको थियो । आगलागी नियन्त्रणमा लिने क्रममा अचानक कार र ग्यास शिलिण्डर विष्फोट हुँदा आगो निभाउन खटिएकाहरु घाइते भएका हुन् । आगलागीको कारण अझैसम्म खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टोलीले घटनाको अनुसन्धान जारी राखेको छ ।
प्रतिक्रिया