इलाम : आधारभूत अस्पताल भनेर स्थानीय तहमा शिलान्यास भएका अस्पतालहरू सबै निर्माण सम्पन्न भएका छैनन् । स्थानीय तहमा नै आधारभूत स्वास्थ्य सेवा पुर्याउन सङ्घीय सरकारले २०७७ मङ्सिर १५ गते शिलान्यास भएका अस्पताल केही निर्माण भए पनि धेरै निर्माण हुन सकेका छैनन् ।
इलामका सातसहित कोसी प्रदेशका ८६ वटा आधारभूत अस्पताल एकैसाथ शिलान्यास गरिएको थियो । शिलान्यास भएको तीन वर्ष पुग्न लाग्दा पनि केही अस्पताल निर्माणको काम मात्र थालिएको छ ।
इलामको माईजोगमाई, रोङ, चुलाचुली, फाकफोकथुम, र माङसेबुङ गाउँपालिका साथै सूर्योदय र माई नगरपालिका गरी सात स्थानीय तहमा आधारभूत स्वास्थ्य अस्पतालको शिलान्यास गरिएको थियो । तीमध्ये सूर्योदय, माई र चुलाचुलीमा १५।१५ शय्याको आधारभूत स्वास्थ्य अस्पताल निर्माण कार्य सम्पन्न भइसकेका छन् ।
बाँकी स्थानीय तहमा काम सुरु गर्ने छाँटकाँट नै छैन ।
माईजोगमाई गाउँपालिका–१ नयाँ बजारमा १५ करोडमा तीन वर्षे ठेक्कामार्फत १५ शय्याको आधारभूत स्वास्थ्य अस्पताल निर्माणको काम सुरु भएको डेढ वर्ष भयो । कामको प्रगति भने सुस्त नै छ ।
गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले सुरुमा सामान ढुवानीको समस्याले ढिलाइ भए पनि काम समयमा सम्पन्न गर्नलाई ठेकेदारलाई ताकेता गरिरहेको बताए ।
फाकफोकथुम गाउँपालिका–२ कोल भोटेमा १३ करोड ७९ लाखमा ३६ महिनामा निर्माण हुने गरी २०७९ फागुन महिनामा १५ शय्याको आधारभूत स्वास्थ्य अस्पतालको ठेक्का लागेको थियो । भौगोलिक रूपमा अप्ठ्यारो ठाउँ भएकाले जेठसम्म खार्दै ठिक्क भएको र मङ्सिरपछि धमाधम काम सुरु गर्ने गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले बताए । जिल्लाको पश्चिमी गाउँपालिका फाकफोकथुममा सडक र स्वास्थ्य दुवैको सहज पहुँच नहुँदा नागरिकलाई सास्ती हुने गरेको छ ।
रोङ गाउँपालिका–५ मा आधारभूत स्वास्थ्य अस्पतालका लागि स्थानीयवासीले १५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको भए पनि निर्माणको काम सुरु हु नसकेको छैन । उक्त अस्पताल निर्माणमा करिब ११ करोड हाराहारी लागत लाग्ने तर मन्त्रालयले १९ लाख मात्र बजेट छुटाएकाले काम गर्न अलमल भएको अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले बताए ।
कतिपय ठाउँबाट इलाम सदरमुकाममा रहेको जिल्ला अस्पतालमा आउनै पनि सडकको राम्रो व्यवस्था छैन । हिउँदका दिनमा गाडी सञ्चालन भए पनि बर्खाको समयमा समस्या हुने गरेको छ ।
तस्बिर ः निर्माण सम्पन्न भएको चुलाचुली गाउपालिकाको अस्पताल
प्रतिक्रिया