इटहरी/ पूर्वी नेपालको मोरङ, सुनसरी तथा झापा जिल्लामा बर्सेनि जङ्गली हात्तीको आक्रमणले मानवीय तथा भौतिक संरचनामा क्षति पुग्ने गरेको छ ।
सुनसरीको उपमहानगरपालिका–२ स्थित बुढासुब्बा चोकमा बिहीबार राति हात्तीको आक्रमणबाट एक स्थानीय युवाको मृत्यु भएको छ । जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गर्न लागेपछि राति हात्ती खेदाएर घर फर्किने क्रममा २५ वर्षीय रविन खड्कालाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक शम्भु बस्नेतले बताए ।
हात्तीले किचेर खड्काको मृत्यु भएपछि इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले मृतकको घर पुगेर पीडित परिवारलाई रु एक लाख क्षतिपूर्ति दिने बताए । उनले थप घटना हुन नदिन रातको समयमा जिल्ला वनका वनरक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित संयुक्त टोलीले आवश्यक अनुसार गस्ती गरिने तयारी भएको दाबी गरे ।
हात्तीले ज्यान लिएपछि कोसी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बास्तोला,सशस्त्रका प्रमुख अन्जनीकुमार पोखरेलले संयुक्त रूपमा निरीक्षण समेत गरेका छन् । सो क्रममा आगामी दिनमा हात्ती आएको खण्डमा सशस्त्र तथा जनपथ प्रहरीलाई तत्काल खबर गरेर सुरक्षा अपनाउन स्थानीयलाई आग्रह गरेका थिए । हात्ती नियन्त्रण गर्नका लागि इटहरी उपमहानगरपालिकाले हाल सम्म इटहरी २ का स्थानीयलाई ८ वटा साइरन र बत्ती समेत वितरण गरेको छ ।
चारकोसे जङ्गल क्षेत्रमा हिउँदको समयमा हरेक वर्ष हात्तीको चहलपहल बढ्ने गरेकोले मानवीय तथा भौतिक संरचनामा हानी हुने गरेको स्थानीय बताउँछन् । सुनसरीको इटहरीस्थित तालतलैया, पानीपिया तथा शान्तिनगर क्षेत्रमा दजनौँ जङ्गली हात्तीको समूहले स्थानीय बस्तीमा वितण्डा मच्चाउने गरेको स्थानीय समाजसेवी रोशन अधिकारीले बताए ।
सुनसरीको इटहरी २ मा हात्तीको बथान चारकोसे जङ्गलबाट गाउँ पस्न लागेपछि स्थानीय हात्ती धपाउन जुटने गरेका छन् । यहाँको राई चोक नजिक जङ्गली हात्तीले रातको समयमा एक स्थानीयको घर भत्काएर क्षति पुर्याएको छ ।
मोरङको बेलबारी नगरपालिकाको विभिन्न वडामा हात्तीले उपद्रो मच्चाए पछि नगरप्रमुख दिलप्रसाद राई तथा उपप्रमुख नितु थापा कोइराला लगायत जनप्रतिनिधिले अनुगमन गरेका छन् । बेलबारी–१ मा किसानले लगाएको धान बालीलगायत अन्य नगदे बालीनालीमा हात्तीको बथानले नष्ट गर्दा क्षति भएको बेलबारी नगरपालिकाका नगरप्रमुख राईले बताए।
पाकेको धान बाली, केरा खेती, सिमल तरुललगायत बालीनाली हात्तीको बथानले नष्ट गरेको उनले बताए । केही दिनयता पूर्वोत्तर मोरङका विभिन्न क्षेत्रमा हात्तीको हुल नै गाउँ पसेपछि स्थानीय बासिन्दा रातभर जाग्राम बस्न बाध्य भएका छन् । हात्तीको हुल सुन्दरहरैँचा, बेलबारी, लेटाङ, केराबारीलगायत चार कोसे जङ्गल नजिकको बस्तीमा पसेको हो ।
छावा बच्चा सहितको जङ्गली हात्तीको सङ्ख्या दुई दर्जनभन्दा बढी रहेको स्थानीय बताउँछन् । बेलबारी ११ लक्ष्मी मार्गमा राती हात्तीले दुई वटा घर भत्काएर क्षति पुर्याएको छ । रातभर बेलबारी नगरपालिकाको दमकल र इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले साइरन बजाएर जङ्गलतर्फ हात्ती भगाउने कोसिस गरेको स्थानीय सञ्चारकर्मी नरेन्द्र बस्नेतले बताए ।
जङ्गल क्षेत्रबाट हात्तीको हुल नै सडकमा निस्किएपछि बेलबारी ११ लक्ष्मीमार्गको केशलिया पुलमा साँझ सडक जाम भएको थियो । हात्तीले बाटो क्रस गर्ने क्रममा सवारी धनीको भागाभाग भएको थियो ।
मङ्सिर १५ गते शुक्रवार बिहान झापामा हात्तीको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । हल्दीबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनका चौकीदार अन्दाजी ४० वर्षीय धनबहादुर वन शुक्रवार बिहान पौने ११ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
वनमा पुगेका बेला जङ्गलबाट आएको एउटा हात्तीले उनलाई लछारपछार गरी कुल्चिएर मारेको झापा प्रहरीले उल्लेख गरेको छ ।
प्रहरीका अनुसार घटना बारे थप अनुसन्धान भई रहेको छ । साथै केही दिन अघि जङ्गली हात्तीको आक्रमणबाट झापामा एकको ज्यान गएको छ ।
दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको हो । साँझको समयमा शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेर निधन भएको झापा डिभिजन वन अधिकृत मेघराज राईले बताए । हात्तीको आतङ्कलाई दीर्घकालीन रूपमा समाधान गर्न सरकार गम्भीर हुनुपर्नेमा राईले जोड दिए ।
गत वर्ष पनि मोरङको सुन्दरहरैंचा नगरपालिका १० स्थित सुकुना सामुदायिक बनमा घाँस काट्न जाँदा जङ्गली हात्तीको आक्रमणबाट ३२ वर्षीय सीता पराजुलीको निधन भएको थियो । साथै गत वर्षमा नगरको त्रिवेणी चोक उत्तर जङ्गलमा घाँस काटन जाँदा हात्तीको आक्रमणबाट ७५ वर्षीय वृद्ध जयप्रसाद बास्तोला निधन भएको थियो ।
हाल सुन्दरहरैँचाको सलकपुर उत्तर तथा गछियाखोला आसपासको क्षेत्रमा दिउँसै जङ्गली हात्ती मानववस्ती तथा किसानको खेतीबालीमा पसेर आतङ्क मच्चाउने गरेको छ । पछिल्लो समय मोरङको केराबारी, लेटाङ, सुन्दरहरैँचा, मिक्लाजुङ, बेलबारी लगायतका पालिकाको मानवस्तीमा घुमन्ते जङ्गली हात्तीले दुःख दिँदा स्थानीय तथा सरोकार भएकामा चिन्ता बढेकोले समस्याको सावधानमा पहन गर्न आवश्यक भएको जिल्लाका सहायक वन अधिकृत लालबहादुर माझीले बताए ।
डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले जङ्गली हात्तीलाई कसैले जिस्काउने तथा जथाभाबी लखेटने गर्दा मान्छेमा आक्रमण गर्ने भएकोले यसतर्फ सचेत रहन आग्रह गरेका छन् । उनले हात्ती जङ्गलबाट मानव बस्तीमा प्रवेश गरेको सूचना एक अर्कामा आदानप्रदान गरेर रातमा उज्यालो बत्ती र साइरनको व्यवस्था गरिएको जानकारी दिए ।
साथमा यो पनि .....‘घरबाट हात्ती धपाउन नजा भनेका थियौँ, आक्रमणबाट छोरालाई नै गुमाउनु¥यो…’
https://pradeskhabar.com/?p=27372
हात्तीले कुल्चँदा झापामा एक जनाको मृत्यु
https://pradeskhabar.com/?p=27444
इटहरी उपमहानगरले शान्तिनगरलाई दियो हात्ती भगाउने साईरन
https://pradeskhabar.com/?p=23648
प्रतिक्रिया