इलामको कोसेली ललिपप

मंगलबार, ०३ पुस २०८०
टीका खतिवडा इलाम : इलामको कोसेली ललिपप धेरैको रोजाइमा पर्दछ । दूधबाट बनेको ललिपप इलाम घुम्न आउने पर्यटकहरुले कोसेलीको रुपमा प्राय लिएर जाने गर्दछन् । निकै स्वादिलो मिठाइका रुपमा लिइने ललिपप उद्योगबाट धेरै महिलाहरुले रोजगारी समेत पाएका छन् । ललिपप सम्बन्धी उद्योग सञ्चालन गरेर इलामकी एक महिलाले आत्मनिर्भर मात्र हैन धेरै महिला तथा पुरुषलाई रोजगारीसमेत दिएकी छिन् । धेरै महिला तथा पुरुष जागिरको खोजीमा घर बाहिर छन् । कोही नेपालमा नै त कोही रोजगारी नपाएर वैदेशिक रोजगारीमा समेत जाने गर्दछन् । तर इलाममी शुष्मा राईले धेरै महिलालाई रोजगारी दिएकी हुन् । सानो लगानीबाट सुरु गरेको ललिपप उद्योगबाट धेरै महिला दिदिबहिनीलाई रोजगारी दिन सफल उनी आफैं पनि उत्तिकै खट्छिन् । इलाम नगरपालिका– ७ सुन्तलाबारीकी राईको दैनिकी अहिले निकै व्यस्त छ । करिव १० वर्ष अघि उनले स्थापना गरेको ललिपप उद्योगमा ३४ महिलासहित ३६ जनाले रोजगारी पाएका छन् । उनको उद्योगबाट ललिपप र बम्बैसनलगायतका परिकार बन्ने गर्दछ । इलाममा मात्र सीमित ललिपप र बम्बैसन पछिल्लो समय काठमाडौं, हुँदै तेस्रो देश निर्यातसमेत हुन थालेको छ । सानो लगानीबाट सुरु भएको व्यवसाय हाल फस्टाएको छ । राईले जग्गा लिजमा लिएर दूधजन्त परिकार निर्माण गर्दै आएकी छिन् । हाल उनको उद्योगबाट सात प्रकारका दूधजन्य मिठाइका परिकार बन्ने गरेका छन् । पहिला पहिला छुर्पी, घिउलगायतका परिकार निर्माण गर्ने गरेको भएपनि नभ्याएर छुर्पी र घिउ निर्माण गर्न छोडेको उनले बताइन् । श्रीमान र छोराछोरीसमेत बजारीकरणको सँगै काम गर्ने गरेका छन् । हाल उत्पादित वस्तु, थोरै मात्रामा अमेरिकालगायतका देशमा जाने गरेको छ । अन्य काठमाडौं, धरान, विराटनगर, पोखरासहित स्थानीय बजारमा बिक्री हुने गरेको उनले बताइन् । उनले हाल दैनिक एक लाख बराबरको कारोबार गर्दै आएको बताइन् । एक लाखको कारोबार गर्दा १५ देखि २० हजार दैनिक नाफा हुने गरेको उनी बताउँछिन् । करिव पाँच लाखबाट सुरु भएको उनको उद्योगले अहिले वार्षिक करोडौंको कारोबार गर्ने गरेको छ । वार्षिक ३५ लाखसम्म कमाई नै गर्ने गरेको सञ्चालक राईले बताइन् । थोरै लगानीबाट सुरु भएको उद्योगमा धेरै महिलाले रोजगारी पाएसँगै उनीहरु आत्मनिर्भर समेत बन्दै गएका छन् । उद्योगमा सबैलाई कामको बाडँफाट गरिएको छ । मिठाइका परिकारमा लेबल लगाउने, स्टिकर टास्ने, प्याकेजिङ गर्ने काममा महिला दिदिबहिनीले रोजगारी पाएका छन् । दूधबाट खुवा तयार पारेपछि ललिपप बनाइन्छ । ललिपपसँगै बम्बैसन पनि तयार पारिन्छ । १५ वर्ष पहिले सामान्य रुपमा बिक्री हुने ललिपप पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । कतिपय युवायुवती बेरोजगार बनेर विदेश पलायन भइरहेको अवस्थामा इलामका ललिपप उद्योगले धेरैलाई रोजगारी दिइरहेका छन् । कोरोना संक्रमणमा धेरै मार खाएका यी उद्योगलाई टिकाइराख्न राज्यका सम्बन्धित निकायले भने ध्यान दिन नसकिरहेको उद्योगीको भनाइ छ । जिल्लामा अनुदानका केही कार्यक्रम आएपनि वास्तविक व्यक्तिसम्म पुग्न नसकेको उद्योगीको गुनासो छ । हाल यहाँ उत्पादन भएको वस्तुले राम्रो मूल्य पाउने गरेको छ । नेपालका विभिन्न भाग हुँदै अमेरिका समेत आफ्ना उत्पादन पुर्‍याउन थालिएको उद्योगीहरु बताउँछन् । इलाममा उत्पादित दूधजन्य पदार्थ अमेरिकामा निर्यात हुन थालेसँग मूल्यसमेत अझ बढ्न सक्ने बताइएको छ । दूधबाट निर्माण हुने छुर्पी कुकुरको आहाराको लागि (डगच्यू) अमेरिकालगायतका देशमा निर्यात हुने गरेको भएपनि पछिल्लो समय ललिपप र बम्बैसन समेत अमेरिका जान थालेको हो । ललिपप उद्योगबाट पछिल्लो समय दूधको कुराउनी (खुवा) बाट निर्माण भएको मिठाई अमेरिका जान थालेको सञ्चालक राईले जानकारी दिइन् । निकै पहिलादेखि नै विदेश निर्यात गर्न प्रयास गरेपनि पछिल्लो समय मात्र विदेशीले सो मिठाई मन पराएको उनको भनाइ छ । दूधलाई पकाएर खुवा बनाउने, बेल्ने, कागजमा बेर्ने, तयार भएको मिठाई प्याकेजिङ र बजारसम्म लैजाने कामका लागि राईले हाल ३६ जनाले रोजगारी पाएका हुन् । घरका परिवार नै सोही उद्योगमा आवद्ध भएका कारण पनि व्यवसाय सफल भएको उनको भनाइ छ । उत्पादित ललिपप र बम्बैसनसहित पछिल्लो समय उनले कुराउनीबाट नै चक्लेटी मिठाइसमेत निर्माण गर्ने गरेकी छन् । सो मिठाईको समेत बजारमा अत्याधिक माग बढेको कारण राम्रोसँग बजार भेटाएको सञ्चालक राईले बताइन् । प्रतिलिटर ६५ रुपैयाँले दूध खरिद गरेर कुरानी बनाइने गरेको सञ्चालक राईको भनाइ छ । चार लिटर दूधको एक किलो ग्राम कुराउने निर्माण हुने गरेको छ । इलाममा उत्पादित दूधजन्य परिकार जिल्ला बाहिरबाट आउनेहरुले कोसेलीका करपमा समेत लैजाने गरेका छन् । इलामबाट बाहिर पाहुना जाँँदा समेत उत्पादित वस्तु कोसेलीकै रुपमा समेत लैजाने गरिएको छ । इलामेली ललिपपलाई सुरु सुरुमा बजार खोज्न समस्या भएपनि पछिल्लो समय बजारको समस्या नरहेको सञ्चालक राईको भनाइ छ । सानो रकमबाट सुरु गरेको व्यवसाय हाल करोडौंको भएको उनी बताउँछिन् । उनले दूधका परिकारसहित पछिललो समय आलुचिप्स समेत निर्माण गर्ने गरेकी छन् । तर सो चिप्सको बजार भने इलामभित्र मात्र रहेको जनाइएको छ । इलाममा १५० भन्दा बढी ललिपप उद्योगहरु सञ्चालनमा रहेको घरेलु तथा साना कार्यालय इलामका प्रमख एकनाथ दाहालले बताए । उनले प्राय यस्ता उद्योगहरु महिलाकै नाममा दर्ता हुने गरेको समेत बताए । उद्योग स्थापना गर्दा छुट पाउने भएकाले पनि महिलाहरुको नाममै स्थापना गर्ने गरिएको छ । पहाडी जिल्ला भएर पनि इलाममा उत्पादित वस्तु गुणस्तरिय हुने गरेको छ । चिसो मौसम भएका कारण पनि इलाममा यसको व्यवसाय फस्टाएको हो । यी मिठाइ निर्माण भएको दुई महिनासम्म खानयोग्य हुने गरेको छ । तर अमेरिका लगायतका देशमा पठाउँदा यसको गुणस्तर परीक्षण गरेर मात्र पठाउनु पर्ने हुन्छ । इलामबाट यसको परीक्षण गर्न खाद्यय तथा गुण नियन्त्रण कार्यालय विराटनगर पठाउनु पर्ने भएकाले यहाँ निर्माण भएको सामग्री बिग्रिन सक्ने समेत खतरा रहेको घरेलु तथा साना उद्योग कार्यालय इलामका प्रमुख दाहालको भनाइ छ । खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगर जाँदा गर्मीमा कति सामान बिग्रिने समेत गरेको छ । खाध्य तथा गुण नियन्त्रण कार्यालयको सेवा इलाममा समेत विस्तार गर्न सके पहाडी जिल्लामा उत्पादित वस्तु विदेश निर्यातमा सहज हुने यहाँका व्यवसायीको भनाइ छ । इलाममा गएको असार मसान्तसम्ममा साना तथा मझौला गरेर पाँच हजार ८९० वटा उद्योग दर्ता भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।   दूधबाट खुवा, खुवाबाट ललिपप दूधलाई पकाएर कुराउनी अर्थात खुवा बनाइन्छ । कुराउनीमा चिनी मिसाएर यसलाई मेसिनमा लगाएर सुकाइन्छ । बेल्न सजिलो भएपछि निकालिन्छ । सेलाएर यसलाई सानो बनाएर बेलिन्छ । बेलेर लामो त्यान्द्रो बनाइन्छ । लामो त्यान्द्रोलाई नापेर काटिन्छ । काटिएको त्यान्द्रो ललिपपलाई प्लास्टिकमा बेरिन्छ र प्याक गरिन्छ । प्याक पारिएको तयारी मिठाइ बजारमा आउने र उपभोक्ताकोमा पुग्ने गरेको छ । निकै स्वादिष्ट परिकारका रुपमा लिइएको ललिपप दूध उत्पादन गर्ने किसानले समेत खरिद गरेर लैजाने गरेका छन् । आफैैंले बेचिएको दूधबाट निर्माण भएको ललिपप लगायतका परिकार कतिपय किसानलाई निर्माण गर्ने सीप भएपनि नभ्याएकै कारण बाहिरबाट खरिद गरेर ल्याउने गरेको बताउँछन् । दूधबाट बन्ने अर्को परिकार हो बम्बैसन । बम्बैसन समेत निर्माण गर्ने प्रक्रिया उस्तै हुन्छ । तर बम्बैसन कुराउनी अर्थात खुवा जमाएर नै निर्माण गरिन्छ । यसको माग समेत बजारमा उच्च रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार