विराटनगर । अवैध हुण्डी कारोबारको १६ लाखभन्दा बढी नेपाली रूपैयाँसहित विराटनगरबाट एक जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका–१५ रानीका ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई १६ लाख १० हजार नगदसहित पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजितका अनुसार साहलाई विराटनगर–७ स्थित प्रशासन रोडबाट मंगलबार पक्राउ गरिएको हो ।
पक्राउ परेका बेला उनी को १९ प ४४३४ नम्बरको मोटरसाइकलमा सवार थिए ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले नियन्त्रणमा लिएर खानतलासी गर्दा उनको सातबाट स्रोत नखुलेको १६ लाख १० हजार नेपाली रूपैयाँ बरामद भएको कर्णजितको भनाइ छ ।
उनका अनुसार साथबाट बरामद भएको रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरेर साहलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।
साहको साथबाट एक हजार दरका ८ सय ८५, पाँच सय दरका १२ सय ६९, एक सय दरका ९ सय, ५० दरका ५, २० दरका १२ र १० दरको एउटा नोट बरामद भएको थियो ।
बरामद भएको रकमको स्रोत खुल्न नसकेका कारण उक्त रकम अवैध हुण्डी कारोबारको नै भएको सशस्त्रको भनाइ छ ।
प्रतिक्रिया